काठमाडौं, १३ वैशाख । कतारमा अलपत्र परेका ३ जना नेपालीको नेपाल पत्रकार महासंघ कतार शाखाको अगुवाईमा उद्धार गरिएको छ । अर्घाखाँची भूमिकास्थान–७ का तिलबहादुर रायमाझी, नवलपरासी सुनवल–१ का भिम चौधरी र रौतहटका सन्तोष पण्डितको उद्दार गरिएको हो ।
रायमाझी र चौधरी भोलि राति नेपाल फर्कदै हुनुहुन्छ भने सन्तोष पण्डितलाई फर्काउन पहल भइरहेको छ । काठमाडौंको रोयल इन्टरनेसनल ओभरसिस प्रालिबाट गएको चैत २४ गते कतार पुगेका उहाँहरुले भनेको काम र तलब नपाएपछि अलपत्र बनेका थिए ।
भनेको काम र तलब नदिएको कम्पनीले आफूलाई यातना पनि दिएको पीडितले गुनासो छ । उनीहरुको अवस्था थाहा पाएपछि अर्घाखाँची सेवा समाज कतारका द्वितीय उपाध्यक्ष रामप्रसाद पराजुली र अर्घाखाँची सेवा समाजका महासचिव समेत रहेका पत्रकार टेकराज थापाले पीडितलार्इ खाद्यान्न र नगद पनि सहयोग गरेका थिए ।
पत्रकार थापाले नै पीडितका बारेमा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँलाई जानकारी गराएपछि उद्धार प्रक्रिया सुरु भएको थियो ।
काम गर्ने सिलसिलामा शरीरमा एसिड पोखिएपछि तिलबहादुरको शरीर आधापाटो र हात जलेको छ ।
आफू भाग्यले बाँचे पनि कम्पनीले उपचारमा कुनै चासो नदिएको उहाँको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्