काठमाडौ, १४ वैशाख । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीमा संलग्न एक चिनियाँ महिलालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ । यसबाट सुन तस्करीमा संलग्न चिनियाँ गिरोहबारे थप जानकारी पाउन सकिने सिआइबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठ बताउँछन्।
तस्करीमा संलग्न ४० वर्षीया जेजोङलाई सिआइबीले बुधबार विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। चीनबाट नेपाल आउने क्रममा उनी पक्राउ परेकी हुन्। उनलाई ७ महिनादेखि प्रहरीले फरार सूचीमा राखेर खोजिरहेको थियो।
त्यस अघि गत भदौ १४ गते सिआइबीले काठमाडौंको सामाखुसीबाट सिन्धुपाल्चोक भोटेकोसीका पेम्बा दोर्जेलाई पक्राउ गरेको थियो। सोही समूहका अन्य ६ जना धनुषाबाट एक केजी सुनसहित पक्राउ परेका थिए। थप ७ केजी सुन भने भारत पुगिसकेको खुलेको थियो।
सो सुन तस्करीका मुख्य नाइके भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल भएको खुलेपछि उनीविरुद्ध समेत मुद्दा दायर भएको थियो। प्रहरीले अनुसन्धान थालेलगत्तै फरार भएका पौडेल र उनका सहयोगी रमेश खड्का मंसिरको पहिलो साता अदालतमा उपस्थित भएर एकएक लाख रुपैयाँ धरौटीमा छुटेका थिए। उनीहरुको मुद्दा जिल्ला अदालतमा अझै विचाराधीन छ।
प्रतिक्रिया दिनुहोस्