रुकुम (पश्चिम), १६ बैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ १५ गते भित्र नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने बताएका छन । पार्टी एकताको काम अन्तिम चरणमा पुगेकाले दुई पार्टीको एकता आगामी जेठ १५ भन्दा पछि नधकेलिने वताएका हुन ।
रुकुम पश्चिमको चौरजहारीमा आईतबार यदु स्मृति भवनको उद्घाटन कार्यक्रममा बोल्दै नेता नेपालले दुई पार्टीको एकता श्रीमान श्रीमतीको जस्तो नहुने बताए । “हामीले आठ महिनामै जन्म दिन खोजेका थियौं, तर परिपक्व बनाएर नौ महिनामै कम्युनिष्ट पार्टीको जन्म दिने तयारीमा छौं”, उनले भने । अब बन्ने दुई पार्टी एकताले सामाजिक न्याय र महिलाको पक्षमा वकालत गर्ने भएकाले कम्युनिष्ट पार्टी आम नागरिकको पक्षमा रहने नेता नेपालले बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कम्युनिष्ट शासनव्यवस्थामा महिलाले नेतृत्व लिने अवसर पाएको र त्यो व्यवस्था पनि कम्युनिष्ट सरकारले मात्र दिन सक्ने दावी गरे । देशको राजनैतिक स्थायीत्व र समृद्धिका लागी दुई पार्टी बिच हुने एकताले जनतामा सकरात्मक सन्देश गएको बताए ।
अहिले जनताले कम्युनिष्टलाई मन पराएकोले देशको विकास र परिवर्तन पनि कम्यनिष्ट सरकारले नै गर्ने नेता नेपालले ठोकुवा गरे । यसअघि नेपाली काँग्रेसले आफ्नो सरकारको बेला देशमा चरम भष्ट्राचार गरेको आरोप लगाए । काँग्रेसको भ्रष्ट शैलीका कारण देशमा स्थायी शान्ति र समृद्धिले पनि निकास नपाएको नेता नेपालको भनाई थियो ।
अर्को एक फरक प्रसंगमा बाल्दै नेता नेपालले एक वर्षदेखी बन्द चौरजहारी विमान स्थललाई तत्काल सुचारु गर्न एमालेले नै पहल गर्ने दावी गरे । त्यसको लागि पार्टीले सबै प्रक्रिया चालिसकेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्