बागलुङ, १० असार । एकीकृत घुम्ती सेवा शिविरमार्फत बागलुङमा ५८७ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङले शुरु गरेको ‘घर दैलोमा सेवा, सुशासनमा टेवा’ अभियानबाट ग्रामीण भेगका ५८७ जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन् ।
सो कार्यालयले दुई साताको अवधिमा जिल्लाका विभिन्न चार ठाउँमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेका हुन् । तीमध्ये तमानखोला गाउँपालिकामा ७० जना, गलकोट नगरपालिका–११ रिघामा ८३ जना र वडा नं ३ हटियामा २६८ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।
यसैगरी असार ४ गते जैमिनी नगरपालिका–७ बेलबगरमा सञ्चालित शिविरबाट १३९ जनाले नेपाली नागरिकताका प्रमाणपत्र प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
सो कार्यालयका अनुसार, सञ्चालित शिविरमध्ये तमानखोलाबाट १८, गलकोट रिघाबाट छ, हटियाबाट २८, बेलबगरबाट २१ गरी कुल ७३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।
त्यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय र नेपाली सेनाको २३ नं बाहिनी अड्डाको सहकार्यमा तमानखोला सञ्चालित उक्त शिविरबाट १७० जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्