काठमाडौं, ७ असोज । राष्ट्रियसभाका सांसदहरुले दसैं, तिहारजस्ता चाडपर्वमा दैनिक उपभोग्य बस्तु अभाव हुन नदिन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन ।
राष्ट्रियसभाको आईतबारको बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रियसभाका सांसद दिलकुमारी रावल (थापा)ले दसैं, तिहार जस्ता चाडपर्वमा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सरकारलाई सचेत गराउनु भएको हो ।
उहाँले चाडवर्पको अवसर पारेर हुने कालाबजारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि सरकारसँग आग्रह गर्नु भयो ।
सांसद रावलले दसैंमा राजधानीबाट घर जाने यात्रुहरुको यात्रालाई सहज हुनेगरी आवातजावतको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
सांसद प्रकाश पन्थले जिल्लास्थित महिला तथा बालबालिका कार्यालय खारेज भएसँगै रोकिएको शारिरीक रुपमा अशक्त भएका व्यक्तिहरुले परिचय पत्र तत्काल दिने व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भयो ।
उहाँले शारिरीक रुपमा अशक्त नागरिकहरुलाई परिचय पत्र दिने व्यवस्था नहुँदा उनीहरु राज्यबाट पाउने सुविधाबाट बञ्चित हुन पुगेकोतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।
अर्की सांसद नैनकला ओझाले मोरङस्थित उर्जाबारी, कानेपोखरी, पथरी, शनिश्चिरे, बेलबारीलगायतका स्थान रहेका सुकुम्बासीहरुलाई तत्काल जग्गाधनी लालपूर्जाको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्