खोटाङ, २८ भदौ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दोस्रो व्यापारिक केन्द्र ऐँसेलुखर्कबजार जोड्ने रावाखोलामा निर्माण गरिएको पक्की पुल प्रयोगविहीन भएको छ ।
हुर्लुङ–जालपा–ऐँसेलुखर्क सडकखण्डअन्तर्गत माक्पा र जालपाको बीचमा पर्ने रावाखोलामा निर्माण गरिएको पक्की पुल प्रयोगविहीन बनेको हो ।
स्वीस सरकारको करिब रु साढे चार करोडको लागतमा सम्पन्न उक्त पुलले रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपा र ऐंसेलुखर्क गाउँपालिका–७, माक्पा जोडिएको छ । रावाखोलामा पक्की पुल बनेपनि पुलको आसपासको सडक अपुरै हुँदा सिधा यातायात सञ्चालन हुन सकेको छैन ।
पुलको आसपासमा बनाइनुपर्ने एप्रोच रोडका लागि स्वीस सरकारको सहयोगमा करिब रु ८५ लाखको ठेक्का लागेको स्वीस सम्वद्ध कर्मचारी सुशील श्रेष्ठले बताउनुभयो । एप्रोच रोडका लागि करिब रु एक करोडको इस्टिमेट भएपनि घटाघटको बोलपत्रमा रु ८५ लाखमा फ्युचर–कुँवर जेबी कम्पनीले ठेक्का पाएको हो ।
त्यसो त हुर्लङ–जालपा–ऐँसेलुखर्क ४० किलोमिटर सडकमध्ये माक्पा–एँेसेलुखर्क करिब साढे छ किलोमिटर सडक पनि अपूरै रहेको छ । स्वीस सरकारको सहयोगमा निर्माणाधीन सडक स्वीस सरकारले नै अपूरै छाडेका कारण अलपत्र परेको हो ।
हुर्लङ–जालपा–एेंसेलुखर्कसम्मको ४० किलोमिटर सडकका लागि स्वीस सरकारले करिब रु ८० करोड रकम विनियोजन गरेपनि करिब रु ३८ करोड मात्र खर्च भएको छ । नेपाल सरकार र स्वीस सरकारबीच सडक निर्माणमा काम नगर्ने सहमति भएपछि सडक अलपत्र परेको श्रेष्ठको भनाइ छ ।
जिल्लास्थित राजनीतिक दलहरुले स्वीस सरकार र नेपाल सरकारसँग अपूरो सडक पूरा गर्न पटकपटक अनुरोध गर्दा समेत सुनुवाइ भएन । पूर्व सांसद टंक राईले भने आफूले थालेको काम सक्न स्वीस सरकारको नैतिक जिम्मेवारी भएको बताउनुभएको ।
हुर्लुङ–जालपा–एेंसेलुखर्क सडक पूरा भएपछि जिल्लामा उत्पादित सामग्री निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो सडक सोलुखुम्बुसम्म जोडिने भएकाले पर्यटन प्रवद्र्धनमा समेत उपयोगी हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्