रुपन्देही, ९ मङ्सिर । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले लैङ्गिक हिंसा अन्त्यका लागि महिलालाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताउनुभएको छ ।
मन्त्री बरालले महिला आर्थिकरुपमा सक्षम नभएसम्म हिंसा सहिरहनुुपर्ने भएकाले आर्थिक सशक्तीकरण जरुरी रहेको बताउनुभयो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा सामाजिक विकास मन्त्रालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उहाँले हिंसामुक्त समाज निर्माणका लागि महिलालाई सीप सिकाएर आयमूलक काममा लगाउनुपर्नेमा जोड दिनुभयो ।
गैरसरकारी संस्था महासङ्घका प्रदेश सचिव गोविन्द रेग्मीले हिंसा अन्त्यका लागि पुरुष र महिलाको समान दायित्व भएको बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवाली, महाशाखा प्रमुख प्रज्ञा निरौलालगायतले हिंसा सहँदा हिंसा गर्नेलाई प्रोत्साहन मिल्ने भएकाले हिंसा नगर्न र नसहन सबैलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्