ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल


ABC NEWS
६ भदौ २०८३, शनिबार   ३ : ३५   बजे

‘सिमली छायाँमा बसी भरियाले लामो सास फेरेको, उमेर भइसक्यो असी, झन् ठूला दुःखले घेरेको…।’ जनगायक जीवन शर्माले पञ्चायतकालमै पर्वतको कार्कीनेटाको उकालोमा उमेरले असी काटेका भरियाले भारी बिसाएको दृश्य देखेर सिर्जना गरेको यो गीत अहिले पनि उत्तिकै जीवन्त छ। तर, शर्माको गीतमा आएको त्यही कार्कीनेटा बजार भने अहिले आफ्नो पुरानो रौनक गुमाउँदै सुनसान बन्दै गएको छ।

कार्कीनेटा मात्रै होइन, गण्डकी प्रदेशका धेरै पुराना बजारको कथा अहिले उस्तै छ। उमेरले ९० नाघेका ज्येष्ठ नागरिकसँग बसेर विगतका कुरा सुन्दा स्याङ्जाको पुतलीबजार, सेतीदोभान, तनहुँको बन्दीपुर, कास्कीको नागडाँडा र लमजुङको गाउँसहरजस्ता बजार कुनै समय पैदलयात्रीको चहलपहल र व्यापारिक गतिविधिले भरिभराउ रहेको पाइन्छ। ती बजारको चर्चा त्यसबेलाको जीवनशैली, व्यापारिक सम्बन्ध र पैदल मार्गसँग जोडिएको थियो।

तर समय फेरियो। प्रजातन्त्रपछि सडक विस्तार र प्रशासनिक विकेन्द्रीकरणसँगै बजारको भूगोल बदलियो। हिजोका पदमार्ग विस्तारै सडकमा परिणत भए। पदमार्गले जोड्ने पुराना बजार विस्थापित हुँदै नयाँ सडकमार्गमा नयाँ बजार बस्न थाले।

पदमार्ग बदलिए, बजारको भविष्य बदलियो

पर्वततिर चर्चित रत्यौली गीत छ– ‘सेती दोभानको बाटो आउँ आउँ भनेर म आको…।’ यो केवल गीतको थेगो होइन, त्यसबेलाको बजार र यात्राको कथा पनि हो।

सेतीदोभान पुग्नु त्यसबेला सहज थिएन। मानिसलाई आवश्यकता वा बाध्यताले कठिन यात्रा गरेर बजार पुग्नुपर्थ्यो। यात्रा जति जोखिमपूर्ण भए पनि बजारमा पुग्नैपर्ने अवस्था थियो। त्यसैले बजार कम थिए, तर भएका बजार व्यस्त थिए।

प्रजातन्त्रपछि पुराना पदमार्गले विस्तारै रूप बदले। सडक पुगेसँगै पुरानो व्यापारिक केन्द्रको महत्व घट्दै गयो र नयाँ ठाउँमा बजार विस्तार हुन थाल्यो।

लमजुङमा गाउँसहरबाट बेसीसहरतर्फ सहरी गतिविधि सरे। पर्वतमा कार्कीनेटाको व्यापार फलेवासतर्फ केन्द्रित भयो। तनहुँमा बन्दीपुरभन्दा कुरिनटार अगाडि आयो। स्याङ्जामा नयाँ बजार विस्तारको क्रम तीव्र भयो।

यही प्रक्रिया गण्डकी प्रदेशका ११ वटै जिल्लामा देखिन्छ। कतै सडकले बजारको केन्द्र परिवर्तन गर्‍यो, कतै बढ्दो सहरीकरणले पुरानो बजारलाई पछाडि पार्‍यो।

संघीयतापछि फेरिएको बजारको स्वरूप

गणतन्त्र र संघीयताको कार्यान्वयनपछि बजारको स्वरूपमा अर्को ठूलो परिवर्तन आयो। स्थानीय तह गठनसँगै ८५ वटा पालिकाका केन्द्रमा प्रशासनिक गतिविधि विस्तार भए। त्यससँगै पहिले बजार नभएका ठाउँमा पनि नयाँ बजार बस्न थाले।

कुनै ठाउँमा पुरानो बजारकै विस्तार भयो भने कतै पालिकाको केन्द्र अन्यत्र तोकिएपछि नयाँ व्यापारिक केन्द्र विकास भए।

पर्वतको फलेवासमा देवीस्थानबाट खानिगाउँतर्फ बजार सर्नु र बागलुङको बरेङमा बरेङडाँडाबाट सुदालातर्फ बजार विस्तार हुनु यसका उदाहरण हुन्। प्रदेशका ८५ वटै स्थानीय तहका केन्द्र वरपर बजार विस्तारको आफ्नै कथा छ।

नयाँ बजार विस्तारसँगै पुराना बजार विस्थापित हुने क्रम पनि बढेको छ। लमजुङमा सुन्दरबजार र मध्यनेपालमा भइरहेको सहरीकरणले गाउँसहर र बेसीसहरको पुरानो चापमा समेत परिवर्तन ल्याइरहेको छ।

मुस्ताङमा भने उल्टो कथा

गण्डकीका सबै ठाउँमा बजारको कथा एउटै छैन। मुस्ताङमा भने संघीयतापछि पर्यटनले बजारलाई नयाँ जीवन दिएको छ।

हिजो थाकखोलाको नुन बेचेर आम्दानी गर्ने मुस्ताङ अहिले पर्यटकको आवागमनबाट ठूलो आर्थिक गतिविधि सिर्जना गर्ने जिल्लाका रूपमा विकास भइरहेको छ। विगतमा सीमित पर्यटकीय सिजनमा मात्रै पर्यटक पुग्ने मुस्ताङमा अहिले वर्षभरि ठूलो संख्यामा पर्यटक पुग्ने गरेका छन्।

हिजो नुन बेचेर आम्दानी गर्ने मुस्ताङ अहिले होटल, रेस्टुरेन्ट, यातायात र पर्यटन सेवामार्फत ठूलो रकम भित्र्याउने अवस्थामा पुगेको छ।

यसले देखाउँछ, सडक र पर्यटनले कुनै बजारलाई विस्थापित मात्रै गर्दैन, नयाँ सम्भावनासमेत सिर्जना गर्न सक्छ।

सडक पुग्यो, मानिस रहेनन्

संघीयता आएपछि ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने अवधारणासहित स्थानीय सरकारको विस्तार भयो। धेरै ठाउँमा सडक, विद्युत्, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थाको पहुँच बढ्यो।

तर सुविधाको विस्तारसँगै गाउँमै मानिसको बसोबास बढ्छ भन्ने अपेक्षा पूरा हुन सकेन। कतिपय अवस्थामा सडकको विस्तारले गाउँबाट मानिसलाई बाहिर निस्कन झन् सहज बनाइदियो।

बागलुङको जैमिनी नगरपालिका यसको एउटा उदाहरण हो। संघीयतापछि स्थानीय सरकारको पहलमा टोल–टोलसम्म सडक पुगे पनि राष्ट्रिय जनगणना २०७८ अनुसार जैमिनी नगरपालिका ऋणात्मक जनसंख्या भएको स्थानीय तहमध्ये एक बनेको छ।

सडकले गाउँलाई शहरसँग जोड्यो। तर त्यही सडकबाट धेरै मानिस तराई झरे, कोही ठूला सहर पुगे र कोही वैदेशिक रोजगारीका लागि विदेशिए।

अर्थात् सडकले विकासको ढोका खोल्यो, तर गाउँमा जनसंख्या टिकाउने रोजगारी र आर्थिक आधार सिर्जना गर्न सकेन।

खाली गाउँले बदल्यो सदरमुकामको अर्थतन्त्र

बागलुङ बजार पनि यसै परिवर्तनको चपेटामा छ। पञ्चकोट र बागलुङ कालिका मन्दिरजस्ता पर्यटकीय क्षेत्रको विकास नभएको भए २०७२ पछि बजार थप सुनसान बन्न सक्ने अवस्था रहेको स्थानीय अनुभव छ।

जिल्ला सदरमुकाममा सरकारी कार्यालय, शैक्षिक संस्था र सामाजिक संस्थाका कार्यालय भए पनि बजारको मुख्य आर्थिक आधार भने गाउँबाट आउने उपभोक्ता थिए। गाउँ रित्तिँदै गएपछि बजारको आधार पनि कमजोर हुँदै गयो।

अर्कोतर्फ संघीयतापछि धेरै सरकारी सेवा स्थानीय तहमै पुग्दा सदरमुकामको पुरानो महत्वसमेत केही घट्यो। पर्यटनले बजारको अर्थतन्त्रलाई धान्न नयाँ आधार दिएको छ।

पर्वत सदरमुकाम कुश्मामा साहसिक खेल, लामा तथा यान्त्रिक पुलले पर्यटक तानेका छन्। मुस्ताङ जाने पर्यटकले बेनी बजारलाई पनि चलायमान बनाएको छ। कास्कीमा प्रदेश राजधानी पोखरा भएकाले प्रशासनिक गतिविधिको प्रभाव बलियो छ, तर यहाँको अर्थतन्त्रमा पर्यटनको भूमिका अझै महत्वपूर्ण छ।

तनहुँ, लमजुङ, स्याङ्जा, गोरखा, मनाङ र नवलपुरका बजारमा पनि सडक, बसाइँसराइ, स्थानीय तहका केन्द्र तथा पर्यटनले बजारको स्वरूप बदलिरहेका छन्।

बजार मात्रै फेरिएका होइनन्, जीवनशैली पनि फेरिएको छ

पुराना बजारको कथा केवल व्यापारिक केन्द्र फेरिएको कथा होइन। यो नेपाली समाजको जीवनशैली परिवर्तनको कथा पनि हो।

हिजो पैदल हिँडेर बजार पुग्ने मानिस आज सडकमा गुड्ने गाडीबाट केही घण्टामै अर्को सहर पुग्छ। हिजो सानो बजारमा आवश्यक सबै सामग्री खोज्नुपर्ने बाध्यता थियो, आज डिजिटल माध्यमबाट घरमै सामान आइपुग्छ।

त्यसैले बजारको अस्तित्व अब केवल भौगोलिक अवस्थिति वा पुरानो व्यापारिक इतिहासले निर्धारण गर्दैन। सडकको पहुँच, जनसंख्याको अवस्था, प्रशासनिक केन्द्र, पर्यटन, रोजगारी र उपभोक्ताको बदलिँदो व्यवहारले बजारको भविष्य निर्धारण गर्न थालेको छ।

कार्कीनेटा, बन्दीपुर, गाउँसहर वा सेतीदोभानजस्ता पुराना बजारका लागि चुनौती यही हो। नयाँ पुस्ता सहरतर्फ जाँदै गर्दा र व्यापारिक गतिविधि नयाँ केन्द्रमा सर्दै गर्दा यी बजारले आफ्नो पहिचान कसरी जोगाउने?

गण्डकीका बजारको अहिलेको कथा यही प्रश्न वरिपरि घुमिरहेको छ—सडकले दूरी घटायो, तर कतिपय गाउँ र बजारबीचको सम्बन्ध नै टाढिँदै गयो। नयाँ बजारहरू उदाउँदै गर्दा पुराना बजारको इतिहास, संस्कृति र आर्थिक पहिचान जोगाउने चुनौती भने झन् गहिरिँदै गएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी पुस्ताको प्रश्न : विदेश होइन, नेपालमै भविष्य खोज्ने वातावरण कहिले?

प्रधानमन्त्री बालेन म्याग्दीको तातोपानीमा विश्रामपछि जोमसोमतर्फ प्रस्थान

सम्बन्धित

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

प्रधानमन्त्री बालेन र प्रधानन्यायाधीश शर्मा पोखरामा, भेटघाटको कार्यक्रम छैन

रघुगंगामा ‘कानुनदेखि विकाससम्म’को दाबी : अध्यक्ष भण्डारीले भने— दोस्रो कार्यकाल जनविश्वासको परिणाम

गण्डकीलाई पर्यटन राजधानी बनाउने लक्ष्य, विकास र सुशासनमा जोड : मुख्यमन्त्री पाण्डे

मगर भाषामा समाचार प्रसारणको ३२ वर्ष स्मरण, पत्रकार मीनाकुमारी र मनसुधन थापामगर सम्मानित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu