काठमाडौँ, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य खम्बासिंह कुवँर (काजी बा) को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले कुवँरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना व्यक्त गर्नुभएको हो ।
मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टे«टलगायत रोगबाट पीडित उहाँको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । एक साता अघिदेखि खम्बासिंहलाई अस्पतालमा राखेर उपचार गरिँदै आएको उहाँका पारिवारिक सदस्य नारायणसिंह कुँवरले जानकारी दिनुभयो ।
भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार उहाँको बिहान ८ः४५ बजे निधन भएको हो । उहाँमा निमोनियाको समस्या पनि देखिएको अध्यक्ष अधिकारीले जनकारी दिनुभयो । उहाँको आजै पवित्र तीर्थस्थल देवघाटमा दाहसंस्कार गरिँदै छ । त्यसअघि नेकपा चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको जनाएको छ ।
श्रद्धाञ्जलि कार्यक्रममा कुँवरका राजनीतिक शिष्य नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत आउने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष यमबहादुर परियारले जानकारी दिनुभयो । पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलिपछि आजै देवघाटमा अन्त्येष्टि गरिँदै छ ।
विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नं ७ मा बुबा ललितजङ्ग र आमा पुतली कुँवरको कोखबाट जन्मेका कुँवरले २०११ सालमा लमजुङमा गुणबहादुर गुरुङबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो । विसं २०१५ मा चितवन झर्नु भएका कुँवरले सम्पूर्ण जीवन र आफ्नो जायजेथा पनि पार्टीलाई नै सु्म्पिनु भएको थियो ।
उहाँलाई विसं २०६८ मा चितवनमा नागरिक समाज र तत्कालीन माओवादी पार्टीले नागरिक अभिनन्दनसहित रथारोहण गराएको थियो । यस्तै विसं २०६९ मा नेपाल सरकारले उहाँलाई सुप्रबल जनसेवाश्री विभूषणद्वारा सम्मानित गरेको थियो । जीविकोपार्जनका लागि भारत जाँदा २००७ सालमै भारतीय कम्युनिष्ट पार्टीका नेता अमृत डाँगीको सङ्गतमा परेपछि उहाँ नेपालमै फर्किएर वर्गीय आन्दोलनमा होमिनुभएको थियो । विसं २०१४ मा नन्सेन्टर जिल्ला कमिटीको नेतृत्वमा रहनुभएका उहाँ त्यसपछि मोहनविक्रम सिंह, शम्भुराम, मनमोहन अधिकारी निर्मल लामालगायतका नेतासँगै न्यूक्लियस सङ्गठन गरेर सङ्गठन विस्तारमा लागेको उहाँ जीवितहुँदै बताउनुभएको थियो ।
विसं २०३१ मा मोहनविक्रम सिंह महामन्त्री रहेको चौथो महाधिवेशनमा पोलिटब्यूरो सदस्य रहनुभएका उहाँले गण्डकी, नारायणी, लुम्बिनीलगायत क्षेत्रमा रहेको आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो । विसं २०३४ मा गोरखाको आरुघाटमा प्रगतिशील शिक्षकका लागि नेकपा चौमको प्रशिक्षण कार्यक्रम भएको थियो । त्यसका प्रशिक्षक कुँवर हुनुहुन्थ्यो । प्रशिक्षार्थीमध्ये एक हुनुहुन्थ्यो ‘प्रचण्ड’ । त्यही प्रशिक्षणबाट प्रभावित भएर विसं २०३५ मा शिक्षक पेशा छोडेर दाहाल दीर्घकालीन कार्यकर्ता हुनुभएको बताइन्छ ।
विसं २०४८ मा नेकपा माओवादी गठन भएपछि निरन्तर केन्द्रीय सल्लाहकार समिति सदस्य रहनुभएका खम्बासिंह जनयुद्धकालमा भूमिगत हुनुहुन्थ्यो । हाल उहाँ पार्टीको केन्द्रीय सल्लाहकार रहनुुभएको जिल्ला अध्यक्ष परियारले जानकारी दिनुभयो । उहाँका एक छोरा र चार छोरी हुनुहुन्छ । उहाँ परिवारका सदस्यसँग भरतपुर महानगरपालिका–१० मा बस्दै आउनु भएको थियो ।
कुँवरले नेपाली सर्वहारा वर्ग, मजदूर, किसान, उत्पीडित वर्ग र समुदायको मुक्तिको लागि वर्ग संघर्षलाई अगाडि बढाउने अभियानमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुभएको समेत अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले एक विज्ञप्ती जारी गर्दै लेख्नु भएको छ – नेपाली जनताको मुक्ति र सबै खाले प्रतिक्रियावादका विरुद्ध लड्ने नेपाली कम्युनिष्ट आन्दोलनका अविचलित नेता तथा हाम्रो पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य कमरेड खम्बासिंह कुवँर (काजी बा) को असामयिक निधनको खबरले मर्माहत भएका छौं । उहाँको निधनले हाम्रो पार्टी र सिंगो नेपाली कम्युनिष्ट आन्दोलनले एक अथक योद्धा तथा अभिभावक गुमाएको छ ।
हाम्रो पार्टी कमरेड कुँवरप्रति क्रान्तिकारी अभिवादन सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
कमरेड कुँवर वि। सं। १९८४ बैशाख १० गते लमजुङ जिल्ला बाङ्ग्रे–७ मा जन्मिएर चितवन गीतानगर, केशरवागमा बसोबास गर्दै आउनुभएको थियो । उहाँको जन्म बुबा ललितजंङग कुँवर र आमा पुतली कुँवरका कान्छा छोराको रुपमा भएको थियो । उहाँका २ छोरा र ४ छोरी हुनुहुन्छ ।
कमरेड कुँवर भारतीय सेनाको सेवा सुविधालाई छोडेर देश र जनताका निम्ति क्रान्तिमा होमिनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता २०११ सालमा लिनुभएको थियो । त्यसपछि उहाँ पार्टीका विभिन्न कमिटीहरुमा क्रियाशील रहँदै वि। सं। २०३१ सालमा सम्पन्न चौथो महाधिवेशनबाट वैकल्पिक पोलिट्व्यूरो सदस्यमा निर्वाचित हुनुभएको थियो । वि। सं। २०४३ सालको अन्त्य तिर उहाँ गण्डक ब्यूरोबाट सरुवा भई नारायणी ब्यूरोमा आउनुभयो । उहाँ जीवन पर्यन्त नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनुभयो ।
कमरेड कुँवरले नेपाली सर्वहारा वर्ग, मजदूर, किसान, उत्पीडित वर्ग र समुदायको मुक्तिको लागि वर्ग संघर्षलाई अगाडि बढाउने अभियानमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । नेपाली वर्गीय आन्दोलनमा उहाँको योगदान नेपाली कम्युनिष्ट क्रान्तिकारीहरुका निम्ति सधैं प्रेरणादायी र अनुकरणीय हुने विश्वास लिएको छौं ।
१३ माघ, २०७७
प्रतिक्रिया दिनुहोस्