काठमाडौ साउन २६ । राष्ट्रिय सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैले आसनबाट उठेर विरोध जनाएका छन् । शुक्रबारको बैठकको सुरुमै सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए । तर बैठक कार्यसूचीमा प्रवेश गर्ने बेला भने नेकपा एमालेले आसनबाट उठेर बैठक अवरोध गरेपछि सत्ता पक्षका सांसदहरुले पनि बैठक सञ्चालन हुनुपर्ने भन्दै विरोध जनाएका थिए ।सुन तस्करीका विषयमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने अडानमा रहेको एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।
शुक्रबार पनि एमालेले अवरोध गरेपछि सत्ता पक्षका सांसदहरुले पनि उठेर विरोध जनाएका हुन् ।बैठकको कार्यसूचीअनुसार कारबाही अघि बढ्नुपर्छ,ु सत्तापक्षका सांसदहरुले भनेका थिए । सत्तापक्ष र प्रतिपक्ष दुवै उठेर विरोध जनाउन थालेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उठेरै बैठक सञ्चालन गर्न पनि स्वास्थ्यले साथ नदिने अवस्था आउँला भन्दै ठट्टा गरे । सत्तापक्ष र प्रतिपक्ष दुवैले विरोध जनाएपछि बैठक सञ्चालन हुन सकेन ।बैठकमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले निरन्तर संसद् अवरुद्ध भएको भन्दै पटक(पटक आग्रह गरेपनि दुवै पक्षले विरोध रोकेनन् ।
त्यसपछि बैठक साउन ३१ गते बुधबार १ बजे बस्ने गरी स्थगित भएको छ ।अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो । भन्सार यार्ड पार गरेर बाहिरिएको क्विन्टल सुन बरामद भएको दुई साता बितिसक्दा तस्करीमा प्रयोग भएका व्यक्ति मात्र पक्राउ परेका छन् । सुन बरामद हुँदा एक भन्सार एजेन्ट र एक ट्याक्सी चालक पक्राउ परेका थिए । त्यसबाहेक भन्सार अधिकृत, तीन भन्सार एजेन्ट र तीन विदेशी नागरिकसहित १७ जना समातिएका छन् ।
एमालेको दबाबपछि प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान रोकेर सीआईबीलाई दिएका छन् । तर एमालेले भने उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद् अवरुद्ध पार्दै आएको छ ।







प्रतिक्रिया दिनुहोस्