काठमाडौं २० पौष । वीर अस्पतालमा अक्सिजन आयात रोकिने अवस्था आएसँगै अर्थ मन्त्रालयले साढे चार करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । अक्सिजन, अत्यावश्यक औषधि र बिरामीकोे खानालाई निरन्तरता दिन साढे चार करोड रुपैयाँ बजेट प्राप्त भएको अस्पतालका निर्देशक डा। सन्तोष पौडेलले बताए ।
“अहिलेलाई तीनवटा शीर्षकमा खर्च गर्न चार करोड ५० लाख रुपैयाँ प्राप्त भएको छ,” निर्देशक पौडेलले भने, “अस्पतालको दैनिक आवश्यकीय सामग्री, ल्याबको रिएजेन्टलगायत सामग्रीको भने समस्या नै छ ।”
केही दिनअघि मात्रै लिक्विड अक्सिजन आयातकर्ता शंकर अक्सिजन ग्यास प्रालिले झन्डै दुई करोड रुपैयाँ बक्यौता रहेको भन्दै वीरलाई ग्यास आपूर्ति रोक्ने चेतावनी दिएको थियो ।
त्यस्तै, वीरले बिरामीलाई खुवाउने खाना शीर्षकको एक करोड ६७ लाख रुपैयाँ बजेट पनि चालु आर्थिक वर्षदेखि कटौती गरिएको थियो ।
अस्पताल कर्मचारीको आग्रहमा हाल अक्सिजन आयात र खाना दुवै भने रोकिएको छैन । वीरमा दुईवटा लिक्विड र एक ड्राइसहित तीनवटा अक्सिजन प्लान्ट छन् ।
हाल ड्राइ अक्स्जिन प्लान्ट बिग्रिएपछि लिक्विड अक्सिजनको खपत थप बढेको थियो । लिक्विड अक्सिजन आयातमा मात्रै दैनिक एक लाखभन्दा बढी खर्च हुने अस्पतालका कर्मचारी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्