काठमाडौं २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।
गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए । लगत्तै न्यायाधीश अधिकारीको इजलासमा बयान भएको थियो ।
रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार आज थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो ।
‘बयान सकिँदा आज १५र२० मिनेटमात्रै समय बाँकी भयो,’ न्यौपानेले अनलाइनखबरसँग भने, ‘हामीले आजै थुनछेक बहसका लागि आग्रह गरेका थियौं । तर, श्रीमान्ले प्रहरीकै जिम्मा लगाउनुभयो ।’
उनका अनुसार, परिवार वा सरकारी वकिलको जिम्मा रविलाई छाड्न न्यायाधीश अधिकारीसँग आग्रह गरिएको थियो । यद्यपि उनले उक्त प्रचलन नभएको भन्दै प्रहरीकै जिम्मा दिनुपर्ने बताएको न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार भोलि बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्