काठमाडौं २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा लगिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा लगिएको हो ।
उनलाई भर्खरै काठमाडौं जिल्ला अदालतबाट प्रहरीले लगेको छ । उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीले स्रोतले जानकारी दिएको छ ।
सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए ।
रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार आज थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो ।
उनका अनुसार, परिवार वा सरकारी वकिलको जिम्मा रविलाई छाड्न न्यायाधीश अधिकारीसँग आग्रह गरिएको थियो । यद्यपि उनले उक्त प्रचलन नभएको भन्दै न्यायाधीश अधिकारीले प्रहरीकै जिम्मा लगाइदिएका हुन् ।
न्यौपानेका अनुसार भोलि बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्