काठमाडौं। फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीचको खेल पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको छ। खेलको सबैभन्दा ठूलो क्षण २८औँ मिनेटमा आयो, जब मोरक्कोका गोलरक्षक यासिन बोनोले फ्रान्सका कप्तान किलियन एमबाप्पेको पेनाल्टी शानदार रूपमा बचाउँदै टोलीलाई संकटबाट जोगाए।
बोस्टन स्टेडियममा भएको खेलको सुरुवातदेखि नै फ्रान्सले बलमाथि नियन्त्रण राख्दै लगातार आक्रमण गरे पनि मोरक्कोको अनुशासित रक्षापङ्क्ति तोड्न सकेन। एमबाप्पे, उस्मान डेम्बेले, देजिरे डुए र माइकल ओलिसेले पटक–पटक अवसर सिर्जना गरे पनि अन्तिम प्रहार प्रभावकारी हुन सकेन।
एमबाप्पेलाई लडाएपछि पेनाल्टी
खेलको २५औँ मिनेटमा मोरक्कोले आक्रमणका क्रममा बल गुमाएपछि फ्रान्सले तीव्र प्रतिआक्रमण गर्यो। एमबाप्पे बायाँतर्फबाट तीव्र गतिमा पेनाल्टी क्षेत्रभित्र प्रवेश गर्दा मोरक्कोका रक्षक नुसाएर माजराउईले उनलाई लडाए। अर्जेन्टिनाका रेफ्री फाकुन्डो टेलोले तत्काल पेनाल्टीको संकेत गरे।
यद्यपि पेनाल्टी प्रहार गर्नुअघि भिडियो सहायक रेफ्रीको जाँचका कारण लामो समय खेल रोकियो। तीन मिनेटभन्दा बढी प्रतीक्षा गर्नुपरेपछि एमबाप्पेले प्रहार गरेको कमजोर पेनाल्टी बोनोले सहजै बचाए। यससँगै खेल गोलरहित रह्यो।
बोनोको उत्कृष्ट प्रदर्शन
एमबाप्पेको पेनाल्टी बचाउनु मात्र होइन, खेलभर बोनोले फ्रान्सका अन्य प्रयासहरू पनि विफल पार्दै उत्कृष्ट प्रदर्शन गरे।
पाँचौँ मिनेटमा एमबाप्पेको शक्तिशाली प्रहार उनले कर्नरमा फर्काइदिए। त्यसपछि डायोट उपामेकानोको हेडर, देजिरे डुएको उत्कृष्ट प्रहार तथा अन्य केही अवसरमा पनि बोनो मजबुत देखिए।
फ्रान्सको दबाब, मोरक्कोको धैर्यता
फ्रान्सले पहिलो हाफभर बलमा नियन्त्रण राखे पनि मोरक्कोले संगठित रक्षात्मक रणनीति अपनायो। कप्तान अशरफ हाकिमीको नेतृत्वमा मोरक्कोका रक्षकहरूले एमबाप्पे र डेम्बेलेलाई खुलेर खेल्न दिएनन्।
मोरक्कोले बल पाएपछि प्रतिआक्रमण गर्ने प्रयास गरे पनि फ्रान्सका गोलरक्षक माइक मैन्यानलाई खासै परीक्षा दिन सकेन। पहिलो हाफमा मोरक्कोको सबैभन्दा उल्लेखनीय प्रयास हाकिमीको फ्रिकिक थियो, जुन गोलपोस्टभन्दा निकै माथिबाट बाहिरिएको थियो।
क्रसबारले बचायो मोरक्कोलाई
पहिलो हाफको इन्जुरी समयमा फ्रान्स गोलको निकै नजिक पुगेको थियो। लुकास दिन्येको घुमाउरो प्रहार क्रसबारमा लागेर फर्किएपछि मोरक्कोले राहतको सास फेर्यो। केही क्षणपछि हाकिमीको अर्को प्रयास पनि लक्ष्यभन्दा बाहिरिएसँगै पहिलो हाफ गोलरहित बराबरीमा सकियो।
दोस्रो हाफमा निर्णायक भिडन्तको अपेक्षा
पहिलो हाफमा फ्रान्सले खेलमा प्रभुत्व जमाए पनि गोल गर्न असफल भयो। अर्कोतर्फ, मोरक्कोले अनुशासित रक्षात्मक प्रदर्शन गर्दै फ्रान्सलाई निराश बनाएको छ।
चार वर्षअघि कतार विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको मोरक्को यसपटक बदला लिने लक्ष्यमा छ भने फ्रान्स लगातार अर्को सेमिफाइनल यात्रा सुनिश्चित गर्न दोस्रो हाफमा थप आक्रामक हुने अपेक्षा गरिएको छ। खेलको निर्णय अब दोस्रो हाफको प्रदर्शनले गर्नेछ।







प्रतिक्रिया दिनुहोस्