काठमाडौं २९ असार । अमेरिका र इरानबीचको सैन्य तनाव फेरि तीव्र बनेको छ। हर्मुज जलमार्गको नियन्त्रणलाई लिएर दुवै पक्षबीच नयाँ आक्रमण र प्रतिआक्रमण सुरु भएपछि गएको महिना भएको अस्थायी युद्धविराम संकटमा परेको छ।
इरानले अर्को सूचना नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा गरेको छ। तर अमेरिकाले जलमार्ग पूर्ण रूपमा खुला रहेको दाबी गर्दै अन्तर्राष्ट्रिय व्यापारिक तथा तेल बोकेका जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न आफ्ना नौसैनिक बल परिचालन गरिएको जनाएको छ।
तनाव बढ्दै जाँदा अमेरिकी केन्द्रीय कमान्डले इरानका १४० भन्दा बढी सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ। त्यसको प्रतिकारस्वरूप इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिका र उसका क्षेत्रीय साझेदारविरुद्ध व्यापक मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
इरानले संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, ओमान र बहराइनतर्फ पनि मिसाइल तथा ड्रोन प्रहार गरेको जनाएको छ। ती देशहरूले भने आफ्ना हवाई प्रतिरक्षा प्रणाली सक्रिय पार्दै अधिकांश आक्रमण विफल बनाइएको बताएका छन्।
बीबीसीका अनुसार जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि भएको भनिएको आक्रमणबारे अमेरिकाले थप विवरण सार्वजनिक गरेको छैन। पछिल्ला सैन्य कारबाहीले शान्तिका लागि सुरु भएको कूटनीतिक प्रयासलाई गम्भीर धक्का पुगेको विश्लेषण गरिएको छ।
विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्गका रूपमा रहेको हर्मुज जलमार्गमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार, समुद्री व्यापार र विश्व सुरक्षामाथि गम्भीर असर पर्न सक्ने चिन्ता बढेको छ।
यसबीच राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन, सैन्य गतिविधि रोक्न र वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन्।







प्रतिक्रिया दिनुहोस्