काठमाडौं, — फिफा विश्वकप २०२६ सेमिफाइनल चरणमा पुग्दासम्म खेलाडीहरूले गरेको गोलका आधारमा क्लबहरूको सूची सार्वजनिक हुँदा रियल म्याड्रिड शीर्ष स्थानमा देखिएको छ। विश्वभरका विभिन्न राष्ट्रिय टोलीका खेलाडीहरूले गरेको गोललाई उनीहरू आबद्ध क्लबका आधारमा गणना गर्दा स्पेनिस महारथी रियल म्याड्रिडका खेलाडीहरू सबैभन्दा प्रभावशाली देखिएका हुन्।
रियल म्याड्रिडका खेलाडीहरूले हालसम्म प्रतियोगितामा १८ गोल गरेका छन्। यसमा किलियन एम्बाप्पे एक्लैले ८ गोल गरेका छन् भने भिनिसियस जुनियर, जुड बेलिङ्घम र अर्दा गुलरले पनि टोलीको गोलसंख्या बढाउन महत्त्वपूर्ण योगदान दिएका छन्।
दोस्रो स्थानमा रहेको पेरिस सेन्ट-जर्मेन (पीएसजी) का खेलाडीहरूले १३ गोल गरेका छन्। उस्मान डेम्बेले, ब्राडली बार्कोला, इब्राहिम एमबाये, जोआओ नेभेस, नुनो मेन्डेस, अशराफ हाकिमी, डिजायर डुए र फाबियन रुइजले पीएसजीका लागि विश्वकपमा गोल गरेका छन्।
आर्सनल तेस्रो, क्रिस्टल प्यालेस र इन्टर मियामी पनि चम्किए
तेस्रो स्थानमा रहेको आर्सनलका खेलाडीहरूले ९ गोल गरेका छन्। काइ हाभर्ट्ज, गेब्रियल मार्टिनेली, लिएन्ड्रो ट्रोसार्ड, भिक्टर ग्योकेरेस र मिकेल मेरिनोले टोलीको गोल योगदान दिएका छन्।
क्रिस्टल प्यालेस, इन्टर मियामी र सन्डरल्यान्डका खेलाडीहरूले समान ८–८ गोल गरेका छन्। इन्टर मियामीका सबै गोल लियोनेल मेस्सीकै नाममा रहेका छन्।
बायर्न, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड
बायर्न म्युनिख, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडका खेलाडीहरूले समान ७ गोल गरेका छन्। बायर्नका लागि जमाल मुसियाला र ह्यारी केन, सिटीका लागि एर्लिङ हालान्ड, तथा युनाइटेडका लागि अमाद डियालो, मार्कस रासफोर्ड, माथेउस कुन्हा र लिसान्द्रो मार्टिनेजले गोल गरेका छन्।
लिभरपुलसहित पाँच क्लबका ६–६ गोल
लिभरपुल, न्यूक्यासल, रियल सोसिडाड, भिल्लारियल र वल्भ्सका खेलाडीहरूले समान ६ गोल गरेका छन्। लिभरपुलका भर्जिल भान डाइक, कोडी गाक्पो, रायन ग्राभेनबर्ख र एलेक्सिस म्याक एलिस्टर उल्लेखनीय गोलकर्ता बनेका छन्।
टोटेनहम, नापोली, अल–नास्रलगायत पनि सूचीमा
टोटेनहम, नापोली, अल–नास्र, अल–काद्सियाह र अल–अह्लीका खेलाडीहरूले समान ४ गोल गरेका छन्। टोटेनहमका पेड्रो पोरो र क्रिस्टियन रोमेरो, नापोलीका केभिन डे ब्रुयन र रोमेलु लुकाकु तथा अल–नास्रका क्रिस्टियानो रोनाल्डो प्रमुख गोलकर्ता बनेका छन्।
बार्सिलोना र चेल्सीका गोलकर्ता सीमित
विश्व फुटबलका दुई ठूला क्लब बार्सिलोना र चेल्सीका खेलाडीले भने हालसम्म एक–एक गोल मात्र गरेका छन्। बार्सिलोनाको एकमात्र गोल लामिन यामालले गरेका छन् भने चेल्सीका लागि एन्जो फर्नान्डेजले गोल गरेका छन्।
विश्वकप अब सेमिफाइनल चरणमा पुगेको छ। बाँकी खेलमा कुन क्लबका खेलाडीले थप गोल गर्दै शीर्ष स्थान बदल्ने हुन् भन्नेमा फुटबल समर्थकको चासो केन्द्रित भएको छ।







प्रतिक्रिया दिनुहोस्