काठमाडौं, ३१ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुने तर्क गरेकी छिन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद गुरुङले सुकुमवासी व्यवस्थापनको सन्दर्भमा सरकारको अव्यावहारिक नीतिका कारण हालसम्म ९ जनाको ज्यान गइसकेको बताइन्। उनले बिना तयारी सुकुमवासी बस्ती खाली गराउँदा मानवीय संवेदनाको अभाव देखिएको र यसले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुने तर्क गरिन्।
‘यो राज्य संयन्त्रले गरेको संस्थागत हत्याको निन्दा गर्दछु’ उनले भनिन्, ‘राज्यले डोजर चलाउन शुरु गरेपछि सुकुमवासीहरुले शृंखलाबद्ध रूपमा गरेको आत्महत्या केवल आत्महत्या मात्र होइन सरकारद्वारा गरिएको आत्महत्या दुरुत्साहन हो । आत्महत्या दुरुत्साहनको मुद्दा सरकारमाथि अब चल्ने कि नचल्नेरु’
मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डल जस्ता युवाहरूको आत्मदाहलाई व्यक्तिगत घटना मात्र नभई राज्यको असफलताको प्रतिविम्बका रूपमा चित्रण गरन्।उनले सरकारले ‘स्टन्ट’ र ‘फण्डा’ गरी जनसरोकारका विषयलाई ओझेलमा परोको आरोप लगाइन्। गम्भीर प्रश्नहरू उठ्दा त्यसलाई ओझेलमा पार्न सरकारले नयाँ–नयाँ प्रपञ्च रच्ने गरेको दाबी गरिन्।
‘मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चलाउनु र अन्य जल्दाबल्दा समस्या हुँदा विषयान्तर गर्नु सरकारको पुरानो शैली भइसकेको छ’, उनले भनिन्।
उनले युवा नेतृत्वबाट ठूलो आशा गरिएको भए पनि सरकारको कार्यशैलीले सर्वसाधारणमा निराशा मात्र बढाएको दाबी गरिन्।







प्रतिक्रिया दिनुहोस्