काठमाडौं, ६ साउन । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने आश्वासन दिएर ठगेको आरोपमा सशस्त्र प्रहरीका पूर्व एसएसपीसहित तीन जना पक्राउ परेका छन्।
असार १२ गते अध्यागमन विभागले ९ जना चिनियाँलाई ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको थियो। उनीहरूले गतिविधि शंकास्पद भएको भन्दै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो।
तिनै चिनियाँहरूलाई छुटाइदिन्छु भनेर आश्वासन दिने उदयपुरका विक्रमबहादुर थापा, नवलपरासी पश्चिमका गोपालकुमार गुरूङ र सर्लाहीका नारद प्रसाद खतिवडालाई पक्राउ गरिएको अनुसन्धानका लागि हिरासतमा रहेका उनीहरूलाई छाडिदिने आश्वासन दिएर ९ लाख रुपैयाँ लिएको आरोपमा तीन जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार गोपालकुमार सशस्त्र प्रहरीका पूर्व एसएसपी हुन्। नारदप्रसाद हास्यव्यंग्य कलाकार हुन्।
उनीहरूले पीडित पक्षलाई भेटेरै छुटाइदिने आश्वासन दिएका थिए। त्यसका लागि सुरूमा उनीहरूले ७२ लाख रुपैयाँमा मान्छे पनि छुटाइदिने र १५ वटा राहदानी पनि दिलाइदिने आश्वासन दिएका थिए।
पछि मोलमोलाइ गरी ९ लाख रुपैयाँ ठगेका थिए। त्यसबारेमा थप अनुसन्धान गर्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।







प्रतिक्रिया दिनुहोस्