काठमाडौं, ६ साउन । सरकारले स्थायी कर्मचारी नियुक्ति प्रक्रिया रोक्ने निर्णय गरेपछि लोकसेवा तयारीमा रहेका युवा तथा विद्यार्थीहरू विरोधमा उत्रिएका छन्। उनीहरूले निर्णय तत्काल फिर्ता लिन र पूर्वनिर्धारित कार्यतालिकाअनुसार लोकसेवा आयोगमार्फत पदपूर्ति प्रक्रिया अघि बढाउन माग गरेका छन्।
माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पूर्वस्वीकृतिबिना कुनै पनि निकायले स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नपठाउने निर्णय गरेको भन्दै त्यसको विरोध गरेका हुन्।
प्रदर्शनमा सहभागी युवाहरूले सरकारले गरेको निर्णयले वर्षौँदेखि लोकसेवा तयारीमा जुटेका हजारौँ युवाको भविष्य अन्योलमा परेको, मेहनत र प्रतिस्पर्धाको मूल्य घटाएको तथा रोजगारीको अवसर सीमित बनाएको गुनासो गरे।
उनीहरूले रिक्त दरबन्दीमा समयमै खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्न, करार प्रणालीको दुरुपयोग रोक्न, योग्यता र मेरिटका आधारमा नियुक्ति सुनिश्चित गर्न तथा राजनीतिक प्रभावभन्दा कानुनी प्रक्रिया र निष्पक्षतालाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।
प्रदर्शनकारीहरूले सांसदका स्वकीय सचिव नियुक्त गर्नुपर्ने भए नेपाल सरकारका स्थायी कर्मचारीलाई नै जिम्मेवारी दिनुपर्ने धारणा पनि राखे।
विरोध प्रदर्शनका क्रममा ‘देशमै बाँच्ने–देशमै बस्न सक्ने वातावरण बनाऊ’, ‘स्वतन्त्र संवैधानिक निकायमाथिको हस्तक्षेप बन्द गर’, ‘पहुँच भए खाऊ, युवा–स्वकीय सचिव खाऊ!’, ‘लोकसेवा भिड्ने भए, भर्ना छैन जाऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
सरकारले दुई दिनअघि बसेको सचिवस्तरीय बैठकमार्फत नयाँ संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणपछि फाजिल हुने कर्मचारीको व्यवस्थापन नभएसम्म स्थायी पदपूर्तिमा रोक लगाउने निर्णय गरेको थियो। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पूर्वस्वीकृतिबिना कुनै पनि निकायले नयाँ स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नपठाउन निर्देशन दिएको छ।
सरकारको उक्त निर्णयपछि लोकसेवा तयारीमा रहेका युवाहरूले त्यसलाई रोजगारी र प्रतिस्पर्धामाथिको हस्तक्षेप भन्दै आन्दोलन थालेका हुन्।







प्रतिक्रिया दिनुहोस्