काठमाडौं, ६ साउन । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सिआइबी०ले उनलाई बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो। बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता अनुपमशमशेर जबराले बताए। विभिन्न बैंकबाट लिएको कर्जा दुरुपयोगको अभियोगमा गत महिना उनीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको थियो। सोही मुद्दामा फरार रहेका अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बिहीबार अदालतमा पेश गरिने एसएसपी जबराले बताए। जगदम्बा स्टील्सको नाममा विभिन्न बैंकबाट लिइएको ४२ करोड १४ लाख रुपैयाँ दुरुपयोग गरेको अभियोगमा शंकरलाल, उनका छोराहरु शाहिल र सुलभ तथा बिचौलिया दीपक भट्टविरुद्ध गत २८ जेठमा मुद्दा दायर भएको थियो। मुद्दा दायर भएको लामो समयसम्म पनि अदालतमा उपस्थित नभएपछि पक्राउ गरिएको सिआइबीका एक अधिकारीले बताए।







प्रतिक्रिया दिनुहोस्