काठमाडौं । भारतमा परीक्षाको प्रश्नपत्र चुहावटको घटनापछि देशभर चर्किएको विद्यार्थी आन्दोलनबीच त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई गाली गर्ने विद्यार्थीहरूलाई माफ गर्न चाहेको बताएका छन् ।
गत महिना प्रश्नपत्र बाहिरिएपछि लाखौँ विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने अवस्था सिर्जना भएको थियो । त्यसपछि देशभर युवाले व्यापक विरोध प्रदर्शन गरेका थिए । उक्त आन्दोलनलाई प्रधानमन्त्री मोदीको कार्यकालकै सबैभन्दा ठूलो राजनीतिक संकटमध्ये एक मानिएको छ ।
प्रदर्शनका क्रममा केही विद्यार्थीले मोदीविरुद्ध अपशब्द प्रयोग गरेका थिए । शुक्रबार राति सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत मोदीले ती विद्यार्थीहरूमाथि कुनै कानुनी कारबाही नचाहेको बताएका हुन् ।
भिडियो सन्देशमा उनले भनेका छन्, “यी बाटो बिराएका बालबालिका हुन् । उनीहरूलाई सही बाटो देखाउनु हाम्रो कर्तव्य हो । उनीहरूलाई सजाय दिने, अदालतको चक्कर लगाउन लगाउने वा समाजमा प्रताडित गर्नाले स्थिति बदलिँदैन । म उनीहरूलाई माफ गर्न चाहन्छु । मलाई आशा छ, समाजले पनि मेरो यो अडानलाई स्वीकार गर्नेछ ।”
मोदीले युवावस्थामा भएका गल्तीलाई मुद्दा वा कानुनी कारबाहीमार्फत नभई उचित मार्गदर्शनबाट सुधार गरिनुपर्नेमा जोड दिएका छन् ।
‘मेरी आमालाई पनि गाली गरियो’
गएको जुलाई २० मा भारतको राजधानी नयाँ दिल्लीसहित देशका विभिन्न स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो । संसद्तर्फ मार्च गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको थियो । सामाजिक सञ्जालमा ‘भाइरल’ भएका केही भिडियोमा प्रदर्शनकारीले मोदीलाई गाली गरेको देखिएको थियो ।
उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मोदीले भनेका छन्, “जन्तर–मन्तरमा के भयो भन्ने कुरा देश र दुनियाँले देख्यो । केही बदमास युवाले अश्लील गाली गरे । यस्ता शब्दहरूको प्रयोग गरियो, जुन सभ्य समाजको हिस्सा हुन सक्दैन । त्यो मेरा निम्ति मात्र होइन, मेरी स्व. आमाप्रति पनि लक्षित थियो । तर पनि म उनीहरूलाई माफ गर्न चाहन्छु ।”
स्थानीय सञ्चारमाध्यमका अनुसार, भिडियोमा देखिएका केही प्रदर्शनकारी सामाजिक सञ्जालमा मोदी समर्थकको ‘ट्रोलिङ’को निसानामा परेका छन् । उनीहरूविरुद्ध उजुरीहरू पनि दर्ता गरिएको छ । प्रहरीले मेटा, एक्सलगायत सामाजिक सञ्जाल कम्पनीलाई आपत्तिजनक सामग्री हटाउन आग्रह गरेको पनि जनाइएको छ ।
कसरी सुरु भएको थियो विवाद ?
गत महिना प्रश्नपत्र बाहिरिएको घटनापछि सुरु भएको प्रदर्शन बिस्तारै बेरोजगारी, परीक्षा प्रणालीको विश्वसनीयता र सरकारको कार्यशैलीप्रति युवाको असन्तुष्टिको राष्ट्रिय आन्दोलनमा परिणत भएको थियो ।
लगातार बढ्दो दबाबपछि तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका थिए । सरकारले परीक्षा प्रणालीमा सुधार गर्ने, आन्दोलनका क्रममा दर्ता मुद्दा फिर्ता लिने तथा विद्यार्थीका प्रमुख माग सम्बोधन गर्ने घोषणा गरेको थियो । प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिहरूमाथि कडा जरिबाना र लामो जेल सजायको व्यवस्था गर्ने विधेयक पनि संसद्बाट पारित गरिएको थियो ।
उक्त प्रदर्शनको नेतृत्व मुख्य रूपमा ककरोच जनता पार्टीले गरेको थियो । यो समूहले नयाँ दिल्लीसहित विभिन्न सहरमा प्रदर्शन आयोजना गर्न सामाजिक सञ्जालको व्यापक प्रयोग गरेको थियो ।
मे महिनामा गठित ककरोच जनता पार्टीको इन्स्टाग्राममा दुई करोड ६० लाखभन्दा बढी फलोअर पुगेका छन् । सत्तारूढ भारतीय जनता पार्टीको इन्स्टाग्राममा करिब ९६ लाख फलोअर छन् । प्रदर्शन सुरु भएयता मोदीले पनि युवासँग प्रत्यक्ष संवाद गर्न इन्स्टाग्रामको प्रयोग बढाएका छन् ।
ककरोच जनता पार्टीले विभिन्न राज्यमा अझै सयौँ विद्यार्थी पक्राउ परिरहेको जिकिर गरेको छ ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्