काठमाडौँ, ८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी वस्तुहरूमा कर लगाउने नयाँ विकल्प प्रयोग गरेका छन् । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जारी गरेको वक्तव्यअनुसार अमेरिकाले आफ्ना दर्जनौँ व्यापारिक साझेदार राष्ट्रहरूमाथि १० देखि १२।५ प्रतिशतसम्मको नयाँ भन्सार महसुल लागू गरेको हो ।
आजै रातिदेखि लागू हुने नयाँ महसुल युरोप, चीन, भारतलगायत ६० वटा व्यापारिक साझेदार देशहरूबाट अमेरिका आयात हुने सामानहरूमा लागू हुनेछ। यी ६० देशहरूले अमेरिकाले गर्ने कुल आयातको ९९।४ प्रतिशत हिस्सा ओगट्छन्।
सर्वोच्च अदालतमा मुद्दा हारेपछि ट्रम्पले यसअघि अस्थायी रूपमा लगाएको १० प्रतिशतको भन्सार महसुलको समयावधि सकिएकै समयमा यो नयाँ कदम चालिएको हो । बीबीसीका अनुसार ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भनेका छन्, ुअदालत वा अन्य कुनै कारणले एउटा विकल्प रोकिएकै भरमा राष्ट्रपतिले आफ्नो व्यापार नीति र मुख्य उद्देश्यहरूमा सम्झौता गर्नुहुने छैन।ु
अमेरिकाको यो निर्णयप्रति ब्राजिलले आपत्ति जनाउँदै १२।५ प्रतिशतको भन्सार महसुल अस्वीकार गरेको छ र जवाफी नीतिको चेतावनी दिएको छ। अर्कोतर्फ, मेक्सिकोका अर्थमन्त्रीले सामाजिक सञ्जालमा भिडियो जारी गर्दै मेक्सिकोले हाल तिरिरहेको प्रभावकारी भन्सार महसुलमा खासै ठुलो बदलाव नदेखिएको प्रतिक्रिया दिएका छन्।
नयाँ भन्सार दर अमेरिकाले विदेशबाट आयात गर्ने लगभग सबैजसो वस्तुहरूमा लागू हुनेछ। यद्यपि, तेल, ग्यास र अमेरिकाभित्र उत्पादन हुन नसक्ने केही अत्यावश्यक वस्तुहरूलाई भने यसबाट छुट दिइएको अधिकारीहरूले जनाएका छन्।
व्यापारी तथा व्यवसायीहरूले भन्सार दरमा निरन्तरता र पूर्वअनुमान योग्यताको माग गरिरहेकाले पुरानो १० प्रतिशत महसुल सकिनासाथ नयाँ दर लागू गरिएको हो।
अमेरिकी आयातकर्ताहरूले पहिलेदेखि नै यस्तै हाराहारीमा भन्सार तिरिरहेकाले साधारण अमेरिकी उपभोक्ताका लागि तत्कालै मूल्यवृद्धिको ठुलो झटका नलाग्न सक्छ। तर, आगामी साता वा महिनाहरूमा भने स्थिति बदलिन सक्छ।







प्रतिक्रिया दिनुहोस्