काठमाडौं । वस्तु तथा सेवा खरिद गर्दा बिल लिने संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालनमा ल्याएको छ।
कार्यक्रमअन्तर्गत योग्य उपभोक्ताले खरिद गरेको बिल अनलाइन दर्ता गरी ‘लक्की ड्र’ मार्फत उपहार प्राप्त गर्ने अवसर पाउने भएका छन्।
विभागले व्यापारिक कारोबारलाई पारदर्शी बनाउने, वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्ने तथा उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रेरित गर्ने लक्ष्यका साथ विशेष अनलाइन पोर्टल https://prize.ird.gov.np सञ्चालनमा ल्याएको जनाएको छ।
विभागका अनुसार नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि एक पटकमा १०० रुपैयाँ वा त्यसभन्दा बढी मूल्यका वस्तु तथा सेवा नगद भुक्तानी गरी खरिद गर्ने उपभोक्ता यस कार्यक्रममा सहभागी हुन सक्नेछन्।
त्यसका लागि साउन १ गतेदेखि प्राप्त भएका खरिद बिलको विवरण विभागको आधिकारिक पोर्टलमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुक उपभोक्ताले विभागले उपलब्ध गराएको अनलाइन प्रणालीमा तोकिएको समयभित्र आफ्नो खरिद बिलको विवरण प्रविष्ट गर्नुपर्नेछ। त्यसपछि योग्य बिलहरू ‘लक्की ड्र’ प्रक्रियामा समावेश हुने विभागले जनाएको छ।
यद्यपि, क्यूआर कोड, मोबाइल बैंकिङ, डेबिट वा क्रेडिट कार्डलगायतका माध्यमबाट विद्युतीय भुक्तानी गरी गरिएको खरिद भने स्वतः प्रणालीमा समावेश हुने व्यवस्था गरिएको छ।
यस्तो अवस्थामा उपभोक्ताले खरिद बिलको विवरण पुनः छुट्टै दर्ता गरिरहनु नपर्ने विभागले स्पष्ट पारेको छ।
विभागका अनुसार यस कार्यक्रमले उपभोक्तामा बिल लिने बानीको विकास हुनुका साथै कर छली नियन्त्रण र कारोबार पारदर्शी हुने अपेक्षा गरिएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्