पोखरा । जेनजी आन्दोलनका क्रममा तोडफोड भएर लामो समय बन्द रहेका पोखराका ट्राफिक लाइट पुनः सञ्चालनमा आएका छन्। एक सातायता पृथ्वीचोक, सृजनाचोक र मुस्ताङचोकमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएपछि सवारी व्यवस्थापन सहज बन्न थालेको छ।
पोखरामा करिब तीन वर्षअघि आधुनिक ट्राफिक लाइट प्रणाली जडान गरिएको भए पनि गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेपछि ती लामो समयदेखि बन्द अवस्थामा थिए।
पोखरामा ट्राफिक लाइट जडानको प्रयास भने नयाँ होइन। २०५६ सालमै तत्कालीन पोखरा उपमहानगरपालिकाले पिक्यापसँगको सहकार्यमा विभिन्न चोकमा ट्राफिक लाइट जडान गरेको थियो। तर नियमित मर्मतको अभाव र आन्दोलनका क्रममा भएको तोडफोडका कारण ती निष्क्रिय बनेका थिए।
पछि सडक विभागले २०७८ कात्तिकमा पोखरा महानगरसँग सम्झौता गर्दै मुख्य चोकहरूमा नयाँ ट्राफिक लाइट जडान गरेको थियो। पहिलो चरणमा पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, महेन्द्रपुल, जिरो किलोमिटर र विरौटा चोकमा करिब १ करोड २६ लाख रुपैयाँ लागतमा ट्राफिक लाइट जडान गरिएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी यामनाथ पनेरुले अहिले चालक र पैदलयात्रीलाई ट्राफिक लाइटको प्रयोगबारे अभ्यस्त बनाउन सचेतनामूलक अभियान चलाइएको जानकारी दिए। प्रारम्भिक चरणमा नियम उल्लंघन गर्ने चालकलाई कारबाहीभन्दा पनि जानकारी दिने काम भइरहेको उनले बताए।
उनका अनुसार पैदलयात्रीका लागि जडान गरिएका केही सिग्नलमा अझै प्राविधिक समस्या रहेकाले सबै प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्नेछ।
सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले आन्दोलनका क्रममा क्षति पुगेका उपकरण परीक्षण तथा मर्मतपछि पुनः सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार निर्माण कम्पनीका प्राविधिक टोलीले केन्द्रबाटै प्रणालीको निगरानी गर्दै आवश्यक मर्मत गरिरहेका छन्।
ट्राफिक लाइट पुनः सञ्चालनमा आएसँगै व्यस्त चोकमा ट्राफिक प्रहरीको प्रत्यक्ष इशारामा सवारी सञ्चालन गराउनुपर्ने अवस्था घट्ने र सीमित जनशक्तिका बीच ट्राफिक व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्