काठमाडौं । विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको हिस्सेदारी बिक्री गर्ने आफ्नो प्रस्ताव फिर्ता लिइसके पनि त्यसको असर भने भएको देखिएको छैन ।
मंगलबार प्रकाशित सञ्चारमाध्यमहरूको रिपोर्टअनुसार तीनवटा क्षेत्रीय महासंघले इन्फान्टिनोलाई पदबाट हटाउन एकजुट भएर दबाब बढाउने तयारी गरिरहेका छन् ।
गत साता फुटबल प्रशासनको संसारमा अभूतपूर्व आन्तरिक द्वन्द्व देखिएको थियो, जसको तीन दिनपछि इन्फान्टिनो ४.२ अर्ब अमेरिकी डलर उठाउने योजनाबाट पछि हटेका थिए ।
आफ्नो स्थिति खराब देखिएपछि र विश्व फुटबलमै विभाजन हुने स्थिति देखिएपछि इन्फान्टिनोले माफी समेत मागेका थिए । यद्यपि, यस घटनाले विश्व फुटबलको सर्वोच्च निकाय फिफामा निकै शक्तिशाली मानिएका इन्फान्टिनोको पोजिसनमा नराम्ररी धक्का पुगेको छ ।
इन्फान्टिनोलाई पुनः निर्वाचनका लागि समर्थन गरेका इंग्ल्यान्डको फुटबल संघसहित पाँच युरोपेली राष्ट्रिय संघले औपचारिक रूपमा आफ्नो समर्थन फिर्ता लिइसकेका छन् । डेनमार्कले भने आफूहरूले उनलाई समर्थन गर्ने निर्णय नै नगरेको स्पष्ट पारेको छ ।
अर्कोतर्फ मोरक्को, कतार, कुवेत, लेबनान र श्रीलंकाका फुटबल संघहरूले अहिलेसम्म सार्वजनिक रूपमा स्विस-इटालियन नागरिक इन्फान्टिनोलाई निरन्तर समर्थन गर्ने बताएका छन् । इन्फान्टिनो सन् २०१६ देखि फिफाको नेतृत्वमा छन् र उनी २०३१ सम्म पदको पहिलो दाबेदार रहेका छन् ।
फिफा कंग्रेसमा २११ राष्ट्रिय संघले मतदान गर्ने भएकाले अहिले सार्वजनिक रूपमा आफ्नो धारणा राखेका संघहरूको संख्या निकै कम देखिन्छ । तर, प्रमुख सरोकारवालासँग पर्याप्त परामर्श नगरी प्रस्ताव अघि बढाउँदा इन्फान्टिनोले क्षेत्रीय महासंघका केही महत्त्वपूर्ण सहयोगी गुमाएको स्पष्ट रूपमा देखिएको छ ।
शक्तिशाली युरोपेली महासंघ यूईएफए तथा उत्तर, मध्य अमेरिका र क्यारेबियन क्षेत्रको फुटबल हेर्ने कन्काकाफले गत शनिबार इन्फान्टिनोको नेतृत्वप्रति आफ्नो विश्वास गुमेको भन्दै वक्तव्य जारी गरेका थिए ।
सामान्यतया: इन्फान्टिनोप्रति वफादार मानिने एसियाली फुटबल महासंघ (एएफसी) भने त्यति कडा रूपमा प्रस्तुत भएको छैन । तर, फिफामा संस्थागत सुधारको आवश्यकता रहेको बताउँदै उक्त योजनाका विषयमा सरोकारवालासँग परामर्श नगर्नुलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भनेको थियो ।
लन्डनबाट प्रकाशित हुने ‘द टाइम्स’मा हिजो सोमबार प्रकाशित एक रिपोर्टअनुसार यूईएफए, कन्काकाफ र एएफसी इन्फान्टिनोलाई पदबाट हटाउन दृढ छन् । रिपोर्टमा इन्फान्टिनोले पद नछाडे फिफाको कामकाज नै ठप्प पार्ने तथा आवश्यक परे आफ्नै प्रतियोगिता सञ्चालन गर्नेसम्मको तयारी भइरहेको दाबी गरिएको छ ।
यस रिपोर्टबारे कन्काकाफ, एएफसी र फिफाले तत्काल टिप्पणी गरेका छैनन् । यूईएफएले भने आफूहरूसँग कुनै टिप्पणी नभएको जनाएको छ ।
इन्फान्टिनोको तत्कालका चुनौतीहरू
इन्फान्टिनोका लागि तत्कालको मुख्य चुनौती विशेष फिफा कंग्रेस बोलाउनुपर्ने अवस्था आउन नदिनु हुनेछ । फिफाका ४३ वा सो भन्दा बढी सदस्य संघले लिखित रूपमा औपचारिक माग गरेमा विशेष कंग्रेस बोलाउनुपर्ने हुन्छ ।
त्यसपछि इन्फान्टिनोसँग आफ्नो क्षतिग्रस्त सम्बन्ध सुधार्न र आफ्ना समर्थकबीच आफ्नो स्थिति बलियो बनाउन करिब सात महिनाको समय हुनेछ ।
इन्फान्टिनोले आफ्ना दुई तत्कालीन पूर्ववर्ती अध्यक्ष जाओ हाभेलान्ज र सेप ब्लाटरले जसरी नै युरोपबाहिर आफ्नो शक्तिको आधार निर्माण गरेका थिए । युरोपबाहिरका तुलनात्मक रूपमा कम धनी फुटबल संघहरू फिफाबाट प्राप्त हुने आर्थिक सहयोगमा निर्भर छन् ।
इन्फान्टिनोको विवादास्पद प्रस्ताव पनि यिनै सदस्य राष्ट्रहरूलाई लक्षित गरेर अघि सारिएको देखिएको थियो । योजनालाई समर्थन गर्ने प्रत्येक सदस्य राष्ट्रलाई आगामी वर्षको सुरुआतमा २ करोडदेखि ४ करोड अमेरिकी डलरसम्मको रकम उपलब्ध गराउने प्रस्ताव गरिएको थियो ।
अब इन्फान्टिनोका विरोधीहरूले आगामी नोभेम्बर १८ मा उमेदवारी दर्ताको अन्तिम मिति आउनुअघि एउटा यस्तो उमेदवार खोज्नुपर्नेछ, जसले एकातिर विश्व फुटबलका परम्परागत शक्तिशाली र समृद्ध क्षेत्रका सदस्यहरूको समर्थन जुटाउन सकोस् ।
अर्कोतर्फ फिफाको आर्थिक सहयोगमा निर्भर सदस्य राष्ट्रहरूको हित र आवश्यकतालाई पनि सम्बोधन गर्न सकोस् ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्