म्याग्दी । सामान्य ज्ञानका पुस्तकदेखि लोकसेवा आयोगका परीक्षासम्ममा बारम्बार उल्लेख हुने म्याग्दीको भालेबास्ने ताल नामले धेरैलाई परिचित छ। तर नाम जति चर्चित भए पनि वास्तविक गन्तव्यसम्म पुग्ने पर्यटकको संख्या भने अझै न्यून छ। प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक आस्थाको संगम बनेको यो ताल प्रचारप्रसार र पहुँचको अभावमा अझै ओझेलमै परेको स्थानीयको भनाइ छ।
म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दुखु गाउँ नजिक रहेको भालेबास्ने ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्य हो। जंगल, स्वच्छ वातावरण, खोलाको कलकल बहाव, दुर्लभ चराचुरुङ्गी र हरियालीले भरिएको यो क्षेत्र साहसिक पदयात्राका लागि उपयुक्त मानिन्छ।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले ‘नामले चर्चित तर व्यवहारमा ओझेल परेको गन्तव्य’ का रूपमा भालेबास्ने ताललाई चित्रण गर्दै यसको सम्भावना उजागर गर्न आवश्यक रहेको बताए।
स्थानीय व्यवसायी सन्तोष सुवेदीका अनुसार भालेबास्ने ताल कुनै पुस्तकको पानामा सीमित सम्पदा नभई प्रकृतिले सिंगारेको अनुपम पर्यटकीय गन्तव्य हो। उनका अनुसार प्रचारप्रसार र सहज पहुँच नहुँदा अपेक्षाअनुसार पर्यटक पुग्न नसके पनि यहाँ पुग्नेहरूले अविस्मरणीय अनुभव लिएर फर्कने गरेका छन्।
४५ मिनेटको पदयात्रापछि पुगिने गन्तव्य
तालसम्म पुग्न दुईवटा प्रमुख पदमार्ग रहेका छन्। मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाका अनुसार बेनी–दरवाङ सडकखण्डको तोलाबाङबाट बायाँ मोडिएर दुखु गाउँ पुग्न सकिन्छ। त्यहाँबाट करिब ४५ मिनेटको पदयात्रापछि ताल क्षेत्र नजिक पुगिन्छ।
अर्को विकल्पका रूपमा दुखु खोलाको किनार हुँदै उकालो लागेर पनि ताल पुग्न सकिने व्यवस्था छ। पदमार्गमा जंगलको छहारी, खोलाको मनोरम दृश्य, चराचुरुङ्गीको चिरबिराहट र शीतल हावाले यात्रालाई थप रोमाञ्चक बनाउने स्थानीय बताउँछन्।
सुरुआती उकालो केही कठिन भए पनि त्यसपछि समथर तथा हल्का उकालो–ओरालो मिश्रित बाटोले पदयात्रालाई सहज बनाउने अनुभव स्थानीयको छ।
किंवदन्तीसँग जोडिएको नाम
स्थानीय जनविश्वासअनुसार परापूर्वकालमा ताल आसपासको जंगल बिहान सबेरै भालाहरूको बास्ने आवाजले गुन्जायमान हुने भएकाले यस तालको नाम ‘भालेबास्ने ताल’ रहन गएको हो।
माथिल्लो दुखुका युवा जीवन पुनका अनुसार पदयात्रापछि ताल क्षेत्र पुग्दा देखिने हरियाली, जंगलको बीचमा रहेको सानो ताल र स्वच्छ वातावरणले सबै थकान क्षणभरमै बिर्साइदिन्छ।
तालसम्म पुग्ने सडक र पदमार्ग अझै चुनौतीपूर्ण भएकाले त्यहाँ पुग्ने प्रत्येक यात्रुले साहसिक यात्राको अनुभव गर्ने गरेका छन्। ताल नजिकबाट झर्ने झरना, कालिज, तित्रा लगायतका चराचुरुङ्गीको आवाज र जैविक विविधताले यो क्षेत्रलाई अझ आकर्षक बनाएको छ।
धार्मिक आस्थासमेत जोडिएको स्थल
भालेबास्ने ताल केवल प्राकृतिक सम्पदा मात्र नभई धार्मिक आस्थासँग पनि जोडिएको स्थल हो। ताल नजिकै मालिका गाउँपालिकाको सहयोग र स्थानीय जनश्रमदानबाट रेलिङसहितको मन्दिर निर्माण गरिएको छ।
गाउँपालिकाको चार लाख रुपैयाँ र स्थानीयको श्रमदानसहित कुल चार लाख ३४ हजार १०१ रुपैयाँ ९५ पैसाको लागतमा निर्माण भएको मन्दिर तथा पदमार्गले पर्यटक र श्रद्धालु दुवैलाई आकर्षित गर्न थालेको छ।
पर्यटनको ठूलो सम्भावना
स्थानीयका अनुसार भालेबास्ने ताललाई केन्द्रमा राखेर पर्यटकीय गतिविधि विस्तार गर्ने पर्याप्त सम्भावना रहेको छ। गाडी यात्रापछि करिब ४५ मिनेटको पदयात्रामै पुग्न सकिने भएकाले यसलाई साहसिक पदयात्रा, प्रकृति पर्यटन र धार्मिक पर्यटनसँग जोडेर विकास गर्न सकिने विश्वास व्यक्त गरिएको छ।
म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाइका सल्लाहकार मोतिराज गौतमले आवश्यक पूर्वाधार, प्रचारप्रसार र संरक्षणमा ध्यान दिन सके भालेबास्ने ताल म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने बताए।
प्राकृतिक सम्पदा, सांस्कृतिक आस्था र साहसिक पदयात्राको अद्वितीय संगम रहेको भालेबास्ने ताल अहिले पनि शान्त र प्राकृतिक स्वरूपमै रहेको छ। उचित योजना र प्रवर्द्धन हुन सके यो ओझेलमा परेको गन्तव्य नेपालको उत्कृष्ट ग्रामीण पर्यटनस्थलमध्ये एक बन्न सक्ने स्थानीयको विश्वास छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्