काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा करिब ३० प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानीमा आएको संकुचन, सञ्चालन खर्चमा वृद्धि र खराब कर्जा बढेका कारण नाफा प्रभावित भएको हो।
बैंकले गत असार मसान्तसम्म २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ रहेको थियो। यसअनुसार बैंकको नाफा एक वर्षमै २९.५२ प्रतिशतले घटेको छ।
बैंकको मुख्य आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानी पनि घटेको छ। अघिल्लो वर्ष ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी ३.४५ प्रतिशत अर्थात् ३२ करोड ६० लाख रुपैयाँले घटेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ। स्प्रेड दर ३.९६ प्रतिशतबाट घटेर ३.६६ प्रतिशतमा झर्दा कर्जा विस्तार भए पनि ब्याज आम्दानीमा गिरावट आएको बैंकले जनाएको छ।
यद्यपि बैंकको फी तथा कमिसन आम्दानी भने बढेको छ। अघिल्लो वर्ष १ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ रहेको यस्तो आम्दानी ९.६४ प्रतिशतले बढेर १ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
यसबीच बैंकको सञ्चालन खर्च पनि बढेको छ। कर्मचारी खर्च अघिल्लो वर्षको ४ अर्ब १७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ५० करोड ८५ लाख रुपैयाँ पुगेको छ।
कर्जा नोक्सानी व्यवस्थापन (इम्पेयरमेन्ट चार्ज) का लागि छुट्याइएको रकममा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्ष ६३ करोड ७ लाख रुपैयाँ रहेको प्रोभिजनिङ ८६ प्रतिशतले बढेर १ अर्ब १७ करोड २६ लाख रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा अनुपात पनि ३.४४ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ। खराब कर्जा बढेसँगै सम्भावित जोखिम व्यवस्थापनका लागि बढी रकम छुट्याउनुपर्दा सञ्चालन नाफामा प्रत्यक्ष असर परेको देखिएको छ।
नाफा घटे पनि बैंकको व्यवसाय विस्तार भने सकारात्मक देखिएको छ। कुल निक्षेप संकलन १५.५ प्रतिशतले बढेर २ खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १६.२४ प्रतिशतले वृद्धि भएर २ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
नाफामा आएको गिरावटसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो वर्ष २४ रुपैयाँ ५९ पैसा रहेको प्रतिशेयर आम्दानी घटेर १६ रुपैयाँ ११ पैसामा सीमित भएको छ। वितरणयोग्य नाफा १ अर्ब २६ करोड २२ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ, जसका आधारमा करिब ६.५४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको देखिएको छ।
बैंकको प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ ७१ पैसा रहेको छ भने पुँजीकोष अनुपात १३.२९ प्रतिशत कायम रहेको वित्तीय विवरणमा उल्लेख छ।
यसैगरी बैंकको आधार दर ५.८७ प्रतिशतबाट घटेर ४.५६ प्रतिशतमा झरेको छ भने कोषको लागत ३.८१ प्रतिशतबाट घटेर २.९७ प्रतिशतमा आएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्