तनहुँ । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिरोले गर्दा दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । तनहुँको सदरमुकाम दमौलीदेखि चितवनको घुमाउने जोड्ने उक्त सडकखण्ड बन्द हुँदा सर्वसाधारणको आवतजावत ठप्प बनेको छ ।
निरन्तरको वर्षासँगै बुधबार बिहान व्यास नगरपालिका–१४ स्थित मास्तीघाट र तुइनमा ठुलो पहिरो खसेपछि यातायात ठप्प भएको हो । बुद्धसिंह मार्ग सरोकार सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापा मगरका अनुसार पहिरोका कारण मोटरसाइकलसमेत सञ्चालन गर्न नसकिने अवस्था छ । “अविरल वर्षाले पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएको छ, जसका कारण स्थानीय र यात्रुले सास्ती भोग्नुपरेको छ, “संयोजक मगरले भन्नुभयो, “अहिले पहिरो पन्छाउने काम भइरहेको छ र आज साँझसम्ममा यातायात सञ्चालनमा ल्याउने प्रयास जारी छ ।’’
गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको यो मार्ग भएर तनहुँका बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाका विभिन्न वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन् । गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने यो सबैभन्दा छोटो दूरीको वैकल्पिक सडक हो । प्रदेश सरकारले हाल दमौलीदेखि व्यास नगरपालिका–१३ को सोढेसम्मको १० किलोमिटर खण्ड कालोपत्र गर्ने तयारी गरिरहेको छ ।
यसैगरी, मुग्लिन–नारायणगढ सडकखण्डसँग जोड्न चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन छ । पूर्वाधार विकास कार्यालयका अनुसार सो पुल निर्माण सम्पन्न भएपछि हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जाने सडकभन्दा यो मार्गबाट यात्रा गर्दा दूरी करिब २३ किलोमिटर छोटो हुनेछ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्