काठमाडौं । जर्मनीको लाइपजिग–हाले विमानस्थलमा युक्रेनी मालवाहक विमाननजिक विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ। मंगलबार राति विमानस्थलका एक कर्मचारीले रनवेनजिक शंकास्पद ड्रोन देखेपछि सुरक्षा निकायलाई जानकारी गराएका थिए। त्यसपछि राज्य र संघीय प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर बम डिस्पोजल रोबोटको सहायताले ड्रोनमा जडित विस्फोटक उपकरण सुरक्षित रूपमा निष्क्रिय पारेका छन्।
घटनापछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै विमानस्थलका उडानहरू केही समयका लागि स्थगित गरिएको थियो। यस क्रममा धेरै मालवाहक विमान तथा एक यात्रुवाहक उडानलाई वैकल्पिक विमानस्थलतर्फ मोडिएको थियो। अवस्था नियन्त्रणमा आएपछि बुधबार बिहानदेखि उत्तरी रनवेबाट उडान सेवा पुनः सञ्चालन गरिएको छ भने दक्षिणी रनवे आंशिक रूपमा बन्द रहेको छ। ड्रोन कसले र किन विमानस्थलसम्म पुर्यायो भन्ने विषयमा जर्मन सुरक्षा निकायले अनुसन्धान अघि बढाएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्