झापा । झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्लाको कन्काई नगरपालिका र बिर्तामोड नगरपालिकामा भएका दुर्घटनामा दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिलो दुर्घटना पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काई नगरपालिका–७, दुर्गापुरमा भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०१–०१ प ३९२९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी एक महिलालाई ठक्कर दिएको थियो।
प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट अर्जुनधारा नगरपालिका–९ निवासी ५० वर्षीया मिरादेवी गौतम गम्भीर घाइते भएकी थिइन्। तत्काल उद्धार गरी उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ निवासी ३१ वर्षीय गोपाल रम्तेल पनि सामान्य घाइते भएका छन्। उनको सुरुङ्गास्थित स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ।
उपचारपछि रम्तेललाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
अटो र ट्याक्टर ठोक्किँदा एक महिलाको मृत्यु
त्यसैगरी, बिर्तामोड नगरपालिका–२ स्थित बाह्रकोटी गाउँको भित्री सडकमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर आपसमा ठोक्किएका थिए। दुर्घटनामा अटो चालक तयामुल हकसहित चार जना घाइते भएका थिए।
घाइतेमध्ये झापा गाउँपालिका–४, भामटोलीकी ३५ वर्षीया सुखी बिबीको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनापछि घाइते सबैलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा लगिएको थियो। उपचारकै क्रममा बिबीको मृत्यु भएपछि उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या एक पुगेको हो।
यससँगै झापामा भएका यी दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु र चार जना घाइते भएका छन्।
प्रहरीले दुवै दुर्घटनाको कारण तथा घटनाको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको जनाएको छ। वर्षायाममा सडक चिप्लो हुने, दृश्यता कम हुने तथा सवारी साधनको गति नियन्त्रणमा समस्या आउन सक्ने भएकाले चालक तथा पैदलयात्रुलाई थप सावधानी अपनाउन प्रहरीले आग्रह गर्दै आएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्