काठमाडौं । प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई ‘कालो चस्मा खोल्न’ आग्रह गरेका छन्। प्रधानमन्त्री शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जनाएका हुन्।
सोमबारको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्न समय दिनुभएको थियो।
बैठकमा सांसद काउचाले प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा आफू एक्लै लडिरहेको आशय व्यक्त गर्दै लेखेको अभिव्यक्तिमाथि टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईंले चाल्ने हरेक कदममा प्रतिपक्ष तपाईंको साथमा छ।’
सांसद काउचाले सरकारले गर्ने राम्रा काममा प्रतिपक्षले साथ दिने र गलत काममा खबरदारी गर्ने बताउनुभयो। साथै, नेपालले पनि भारतको जमिन मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन उहाँले आग्रह गर्नुभयो।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरूले सरकारको कार्यशैलीप्रति विरोध जनाउन थालेको प्रसंग उल्लेख गर्दै काउचाले गलत कामको सत्तारुढ दलले समेत विरोध गर्नुपर्ने बताउनुभयो।
उहाँले प्रधानमन्त्री शाह सबै नेपालीको प्रधानमन्त्री भएकाले संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आग्रह गर्नुभयो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्