काठमाडौँ, साउन २६ गते । अनावश्यक खर्च नियन्त्रण गर्दै बिक्री र व्यवस्थापन सुधार गरेपछि वर्षौंदेखि घाटामा रहेको दुग्ध विकास संस्थान (डिडिसी) नाफातर्फ उन्मुख भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डिडिसीका केही तथ्याङ्क सार्वजनिक गरेपछि संस्थानको आर्थिक अवस्थाबारे चासो बढेको हो।
डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार संस्थानले हाल ४४ जिल्लाबाट दैनिक करिब ६१ हजार लिटर दूध सङ्कलन गरिरहेको छ भने दैनिक करिब ८० हजार लिटर दूध बिक्री गरिरहेको छ। बिक्री हुने दूधमध्ये करिब १९ हजार लिटर पुरानो मौज्दात रहेको बटर तथा पाउडर दूधबाट व्यवस्थापन गरिएको हो।
गत वैशाख १८ गते नयाँ व्यवस्थापनले जिम्मेवारी सम्हाल्दा डिडिसीसँग ६०० टन पाउडर दूध र ४५० टन बटर मौज्दात थियो। अहिले पाउडर दूधको मौज्दात १४० टन र बटर १३५ टनमा झरेको डिडिसीले जनाएको छ।
दूध बिक्रीबाट आम्दानी वृद्धि
डिडिसीले किसानबाट चार प्रतिशत फ्याट भएको दूध प्रतिलिटर ६६ रुपैयाँमा खरिद गर्छ। ढुवानी तथा सहकारी व्यवस्थापनलगायत खर्च जोड्दा प्रारम्भिक लागत करिब ७० रुपैयाँ पर्छ। दूधमा रहेको अतिरिक्त फ्याट प्रशोधन गरी बटर तथा घिउ उत्पादन गर्ने भएकाले वास्तविक लागत घटेर करिब ६४ रुपैयाँमा आउने संस्थानको भनाइ छ।
प्रशोधन, प्याकेजिङ, चिस्यान, ढुवानी, कर्मचारी तथा मेसिन सञ्चालनलगायत खर्च जोड्दा तीन प्रतिशत फ्याट भएको दूधको उत्पादन लागत प्रतिलिटर करिब ८२ रुपैयाँ पुग्छ। उक्त दूध डिडिसीले डिलरलाई ९२ रुपैयाँमा बिक्री गर्ने गरेको छ।
त्यस्तै, पाँच प्रतिशत फ्याट भएको दूध डिलरलाई १२० रुपैयाँमा बिक्री गरिन्छ भने उपभोक्ताले प्रतिलिटर १३० रुपैयाँमा खरिद गर्छन्। डिडिसीका अनुसार दूध बिक्रीबाट दैनिक करिब ८ लाख ९१ हजार रुपैयाँको प्रारम्भिक मार्जिन प्राप्त भइरहेको छ।
यो आम्दानीमा बटर, घिउ, दही, आइसक्रिम, मोहीलगायत अन्य दुग्धजन्य पदार्थको बिक्रीबाट हुने आम्दानी समावेश छैन।
किसानको बक्यौता घट्दै
डिडिसीको कुल बिक्रीमा करिब ८५ प्रतिशत हिस्सा दूधको र १५ प्रतिशत अन्य दुग्धजन्य पदार्थको रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए।
नयाँ व्यवस्थापन आउँदा किसानको करिब आठ महिनाको ७२ करोड रुपैयाँ बक्यौता रहेकोमा अहिले त्यो घटेर दुई–तीन महिनामा सीमित भएको डिडिसीले जनाएको छ। यस अवधिमा संस्थानले किसानलाई करिब ६० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ।
डिडिसीका अनुसार किसानलाई गरिएको उक्त भुक्तानी सरकारी अनुदानबाट नभई संस्थानले बिक्रीबाट आर्जन गरेको रकमबाट गरिएको हो। अब किसानको भुक्तानी अवधि एक महिनामा झार्ने लक्ष्य राखिएको छ।
यस अवधिमा संस्थानले करिब तीन करोड रुपैयाँ पुरानो ऋणसमेत तिरेको जनाएको छ।
बिक्री केन्द्र र कारोबार विस्तार
डिडिसीले निजी क्षेत्रसँगको समन्वयमा काठमाडौँ उपत्यकामा आठ वटा ‘डेडिकेटेड सेल्स काउन्टर’ सञ्चालनमा ल्याएको छ।
असार मसान्तसम्म दैनिक करिब ६०–६२ हजार लिटर दूध बिक्री गर्दै आएको डिडिसीले साउनको पहिलो सातादेखि दैनिक औसत बिक्री ८० हजार लिटर पुर्याएको जनाएको छ। यससँगै दैनिक आम्दानी करिब ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको छ।
संस्थानका अनुसार अनावश्यक खर्च कटौती, व्यवस्थापनमा सुधार, बिक्री वृद्धि र मौज्दात दुग्धजन्य पदार्थको खपत बढ्दा आम्दानीमा सुधार आएको हो। डिडिसीले बिक्रीबाट प्राप्त रकमलाई किसानको बक्यौता भुक्तानी र पुरानो ऋण घटाउन परिचालन गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्