काठमाडौं । ठेक्काको बिल भुक्तानी प्रक्रिया मिलाइदिने भन्दै ६ लाख रुपैयाँ घुस लिएको आरोपमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर र लेखा अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुलाचुली गाउँपालिकाका छैटौँ तहका इन्जिनियर डिल्लीराज खड्का र आठौँ तहका लेखा अधिकृत मिलनकुमार भट्टराईलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार पुलको डिजाइन स्वीकृत गर्ने तथा ठेक्काको बिल भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै उनीहरूले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेको आरोप छ।
घुससहित इन्जिनियर पक्राउ
सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा इन्जिनियर खड्कालाई अख्तियारको टोलीले पक्राउ गरेको थियो। पक्राउपछि उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा लेखा अधिकृत भट्टराईको समेत संलग्नता रहेको खुलेपछि उनलाई पनि भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।
भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ३(क) बमोजिम विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले सोही ऐनको दफा १५ बमोजिम आवश्यक कारबाही तथा सजायको मागसमेत गरेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्