काठमाडौं । ग्लोबल आईएमई बैंकले नाइमा अटो एक्सपो–२०२६ को अवसरमा व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन्। हालको आधारदरअनुसार यस्तो कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत रहने बैंकले जनाएको छ।
आधारदरमा परिवर्तन भएअनुसार कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ।
ईभी कर्जामा ५.९९ प्रतिशत स्थिर ब्याज
नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ।
तीन वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुने व्यवस्था गरिएको छ।
तीन दिनमै कर्जा स्वीकृति
नाइमा अटो एक्सपोमा बैंकले आफ्नो स्टलमार्फत गाडी खरिद गर्न चाहने ग्राहकका लागि कर्जा प्रक्रियाको सुविधा उपलब्ध गराएको छ।
आवश्यक कागजात पूरा गरेपछि बैंकले अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ। ग्राहकले बैंकको स्टलबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन्।
देशभर एक हजारभन्दा बढी सेवा केन्द्र
ग्लोबल आईएमई बैंकले आफू ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको जनाएको छ।
हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालय छन्। बैंकका अनुसार यीमार्फत देशभर एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान भइरहेको छ।
बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दै आएको जनाउँदै सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको दाबीसमेत गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्