पोखरा । भारतीय सेनामा नेपाली युवाको भर्ती पुनः सुरु गर्न र भूतपूर्व सैनिकका संघसंस्थाको नवीकरण खुलाउन माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ।
भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले बुधबार पोखरा रंगशालाबाट ¥याली निकाल्दै जिल्ला प्रशासन कार्यालयअघि धर्ना दिएको हो। धर्नापछि संस्थाले प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएको छ।
संस्थाका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीका अनुसार भारत सरकारले सन् २०२२ जुन १४ मा ‘अग्निपथ’ योजना लागू गरेपछि नेपाल सरकारले विभिन्न कारण देखाउँदै नेपाली युवालाई भारतीय सेनामा भर्ती हुन रोक लगाएको हो। भर्ती रोकिँदा ठूलो संख्यामा नेपाली युवा रोजगारीको अवसरबाट वञ्चित भएको र नेपाल भित्रिने रेमिट्यान्स तथा भूतपूर्व सैनिकले पाउने कल्याणकारी सुविधामा समेत असर परेको उनको भनाइ छ।
सैनिक शब्द प्रयोग भएका संस्थाको नवीकरण रोकिएकोमा आपत्ति
ब्रिगेडले गृह मन्त्रालयको २०८१ वैशाख ४ गतेको सचिवस्तरीय निर्णयप्रति समेत आपत्ति जनाएको छ। उक्त निर्णयपछि संस्थाको नाममा ‘सैनिक’ शब्द प्रयोग भएका संघसंस्थाको नवीकरण रोकिएको भन्दै भूतपूर्व सैनिकहरूले समस्या भोग्नुपरेको जनाएको छ।
संस्थाका अनुसार दुई वर्षदेखि नवीकरण रोकिँदा भूतपूर्व सैनिकसँग सम्बन्धित संस्थागत गतिविधि सञ्चालनमा कठिनाइ भएको छ। त्यसैले तत्काल नवीकरण प्रक्रिया खुलाउन माग गरिएको छ।
अग्निपथ योजनापछि भर्ती रोकियो
भूतपूर्व गोर्खा ब्रिगेड नेपालका पूर्वअध्यक्ष गजबहादुर गुरुङले नेपाली युवाका लागि रोजगारीको अवसर बन्द भएको भन्दै भर्ती प्रक्रिया पुनः सुरु गर्न सरकारसँग आग्रह गरे।
भारतले सन् २०२२ मा लागू गरेको अग्निपथ योजनाअन्तर्गत सैनिकलाई चार वर्षका लागि भर्ती गर्ने व्यवस्था छ। योजनाअनुसार भर्ती हुने सैनिकले नियमित सैनिक सेवामा जस्तो पेन्सन सुविधा नपाउने व्यवस्था छ।
ब्रिगेडले भने नेपाली युवाको रोजगारी, रेमिट्यान्स र भूतपूर्व सैनिकसँग जोडिएका कल्याणकारी सुविधालाई समेत ध्यानमा राखेर भारतसँग आवश्यक समन्वय गरी नेपाली युवाको भर्ती प्रक्रिया पुनः सुरु गर्न सरकारसँग माग गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्