काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अप्सरा बानुले जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा थुनामा परेका व्यक्तिहरूलाई पुनरावलोकन गरी रिहा गर्न माग गरेकी छन्।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै सांसद बानुले जेनजी आन्दोलनमा सहभागी युवाहरूको साहसकै कारण आफूहरू सांसददेखि प्रधानमन्त्रीसम्म बन्न सक्ने अवस्थामा पुगेको बताइन्।
उनले भनिन्, “हामीमध्ये कोही प्रधानमन्त्री, मन्त्री उहाँहरूकै साहसले भएको हो।”
बानुले आन्दोलनमा सहभागी भएको आधारमा मात्रै कसैलाई अपराधीको रूपमा व्यवहार गर्न नहुने बताइन्। उनले आन्दोलनका क्रममा पक्राउ परेका तथा हालसम्म थुनामा रहेका व्यक्तिहरूको अवस्थाबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने माग गरिन्।
थुनामा रहेकाको पुनरावलोकन गर्न माग
सांसद बानुले जेनजी आन्दोलनपछि पक्राउ परेका व्यक्तिहरूको विषयमा छानबिन गर्न समिति गठन भएको जानकारी आए पनि त्यसले गरिरहेको कामबारे आफूहरूलाई स्पष्ट जानकारी नभएको बताइन्।
“छानबिन समिति गठन भएको सुनिन्छ। छानबिन समितिले के काम गरिरहेको छ, जानकारी चाहियो,” उनले भनिन्।
उनले आन्दोलनमा सहभागी भएकै आधारमा थुनामा रहेका व्यक्तिहरूको मुद्दा तथा अवस्थाको पुनरावलोकन गर्नुपर्नेमा जोड दिइन्।
“आन्दोलनमा सहभागी भएका आधारमा थुनामा भएकाहरूको पुनरावलोकन गरियोस्,” बानुको माग छ।
रास्वपाकै सरकार बने पनि थुनामै रहेको गुनासो
जेनजी आन्दोलनपछि रास्वपाको नेतृत्वमा सरकार गठन भए पनि आन्दोलनमा सहभागी भएका केही व्यक्ति अझै थुनामा रहेको भन्दै गुनासो आउने गरेको बानुले बताइन्।
उनका अनुसार कारागारमा रहेका व्यक्तिहरूले आफूहरू कहिले रिहा हुन्छौँ भनेर फोन गर्ने गरेका छन्। उनीहरूका आफन्तले समेत रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै फोन गर्ने गरेको उनले बैठकमा सुनाइन्।
“कहिले निस्किन्छौँ भनेर कारागारबाट फोन आउँछ । आफन्तले फोन गर्नुहुन्छ,” उनले भनिन्।
बानुले जेनजी आन्दोलनका क्रममा भएका घटनामा संलग्न व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाउनुपर्ने भए पनि आन्दोलनमा सहभागी भएकै आधारमा सबैलाई एउटै दृष्टिले हेर्न नहुने बताएकी हुन्।
उनको भनाइले आन्दोलनमा सहभागी व्यक्तिहरूमाथि भइरहेको कानुनी कारबाही, उनीहरूको थुनाको अवस्था र छानबिन प्रक्रियाबारे सरकार तथा सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने विषयलाई संसद्को समितिमा पुनः उठाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्