स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। बिहीबार राति करिब १०ः२० बजे खोलामा आएको तीव्र बहावले मोटरसाइकलसहित उनीहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार पुतलीबजार नगरपालिका–३ पुतलीखेतका १७ वर्षीय समिप शाही भने सकुशल उद्धार भएका छन्। तर, सोही नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम मगर भने मोटरसाइकलसहित खोलाले बगाएको र अहिलेसम्म फेला पर्न सकेका छैनन्।
बगेको मोटरसाइकल १०० मिटर तल फेला
घटनापछि मोटरसाइकलको नम्बर प्लेट स्पष्ट नखुले पनि अनुसन्धानका क्रममा उक्त मोटरसाइकल ग ११ प ८१८३ नम्बरको रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
शनिबार बिहान करिब ६ः४५ बजे बगेको स्थानबाट करिब १०० मिटर तल खोलाभित्र मोटरसाइकल फेला परेको प्रहरीले बताएको छ। मोटरसाइकल फेला परे पनि त्यसमा सवार सलिम मगरको अवस्था भने अझै अज्ञात छ।
प्रहरी, सेना र सशस्त्रको संयुक्त खोजी
बेपत्ता मगरको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
खोलाको बहाव तथा भौगोलिक अवस्थालाई ध्यानमा राख्दै सुरक्षाकर्मीले सम्भावित स्थानमा खोजी गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सलिम मगरको खोजी तथा उद्धार कार्य जारी छ।
लगातारको वर्षाका कारण खोलानालामा पानीको बहाव बढिरहेको अवस्थामा स्थानीयवासीलाई खोला तथा नदी आसपास आवतजावत गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्