काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले निवर्तमान सभापति शेरबहादुर देउवालाई वर्तमान सभापति गगनकुमार थापालाई ‘फिल्म’ देखाइदिन आग्रह गरेका छन्।
शुक्रबार कांग्रेसको इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा बोल्दै तामाङले डा. शशांक कोइरालाले सुनाएको पुरानो प्रसंगलाई राजनीतिक व्यंग्यका रूपमा जोड्दै देउवालाई यस्तो आग्रह गरेका हुन्।
भेलाका संयोजक डा. शशांक कोइरालाले देउवा पहिलोपटक बनारस पुगेको समयको स्मरण सुनाएका थिए। उनका अनुसार तत्कालीन कांग्रेस सभापति बीपी कोइरालाले देउवालाई घुमाउन आफूलाई जिम्मा दिएका थिए। त्यस क्रममा आफूले देउवालाई एकै दिन तीनवटा फिल्म देखाएको शशांकले बताएका थिए।
शशांकले सुनाएको प्रसंगअनुसार बीपीले फिल्म नहेर्न सुझाव दिए पनि आफूहरूले फिल्म हेरेको र पछि बीपीले फिल्मको निर्देशक तथा त्यसको सन्देशबारे प्रश्न गर्दा देउवाले फिल्मबारे हुबहु बताएको स्मरण उनले गरेका थिए।
शशांकको यही प्रसंगलाई समात्दै कान्छारामले देउवालाई गगन थापासँग फिल्म हेर्न आग्रह गरे।
“आज शशांक कोइरालाले ऐतिहासिक कुराहरू भनिदिनुभयो। उहाँको बुवा (बीपी) ले फिल्म हेराइदिने कुरा गर्नुभयो,” तामाङले भने, “अब शेरबहादुर दाइले अरूलाई फिल्म नहेराए पनि गगन थापालाई राम्रो हलमा लगेर फिल्म हेराइदिनुहोला भन्ने आग्रह गर्दछु।”
तामाङको यो अभिव्यक्तिलाई कांग्रेसभित्रको पुरानो पुस्ता र नयाँ पुस्ताबीचको राजनीतिक दूरी तथा संवादको आवश्यकतामाथिको व्यंग्यात्मक सन्देशका रूपमा हेरिएको छ।
कांग्रेसभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पार्टीको आगामी दिशाबारे तीव्र बहस चलिरहेका बेला तामाङले देउवा र गगनलाई एउटै प्रसंगमा जोडेर सहकार्य तथा संवादको संकेत दिएका हुन्।
तामाङले पार्टी कार्यालयसँग सम्बन्धित प्रसंगसमेत उल्लेख गरे। उनले चुनदेवीस्थित कार्यालयमा देउवाको नेमप्लेट र कार्यालय आफूले नै राखिदिएको बताए।
उनको अभिव्यक्तिले कांग्रेसको आन्तरिक शक्ति संघर्षका बीच विगतको नेतृत्व र वर्तमान नेतृत्वबीच संवाद तथा सहकार्यको आवश्यकता औँल्याएको छ। फिल्मको प्रसंगमार्फत तामाङले देउवालाई गगनसँग दूरीभन्दा संवाद र सहकार्यतर्फ अघि बढ्न अप्रत्यक्ष सन्देश दिएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्