काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीभित्र एकताका लागि दबाब बढेको छ।
शुक्रबार आयोजित कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा बोल्ने अधिकांश नेताले पार्टीको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध हुनुपर्ने धारणा राखेका छन्। नेताहरूले एकताका बाधक विषय उठाए पनि एकताबद्ध कांग्रेसको विपक्षमा भने कसैले मत राखेनन्।
भेलामा उठेको एकताको साझा आवाजपछि देउवाले पनि पार्टीभित्रको असहमतिलाई बृहत्तर एकतामा रूपान्तरण गर्नुपर्ने बताएका छन्।
देउवा : पार्टी एकताको पक्षमा दृढ हुनुस्
भेलालाई सम्बोधन गर्दै देउवाले कांग्रेसभित्र देखिएका असहमतिलाई सबैको न्याय र कदर हुने गरी समाधान गर्नुपर्ने बताए।
“पार्टीभित्र देखिएका असहमतिलाई सबै साथीहरूको न्याय र कदर हुने गरी बृहत्तर एकतामा बदल्नुपर्छ। व्यक्ति केन्द्रित हुनुहुन्न। पार्टीमा हामी सबै एकै परिवारका सदस्य हौँ।”
उनले कांग्रेसको लामो इतिहास रहेको उल्लेख गर्दै आन्तरिक विवादका कारण पार्टी कमजोर भएको बताए। पार्टीलाई बलियो बनाउन भावनात्मक एकतासमेत आवश्यक रहेको उनको भनाइ छ।
विशेष महाधिवेशनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै देउवाले अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे। उनले विधि, विधान र पद्धति मिचेर पार्टीलाई कमजोर बनाउने काम भएको दाबीसमेत गरे।
देउवाकै नेतृत्वमा एकता : पूर्णबहादुर खड्का
पूर्वउपसभापति पूर्णबहादुर खड्काले मुलुकमा देखिन सक्ने संकट सामना गर्न कांग्रेसको सम्पूर्ण एकता आवश्यक रहेको बताए।
उनले देउवाकै नेतृत्वमा कांग्रेसलाई एकताबद्ध गर्न सकिने विश्वास व्यक्त गर्दै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीलाई समेत राष्ट्रिय भेलाको दबाबले सच्याउने दाबी गरे।
अदालतको निर्णयपछि एकताको आधार : शेखर
नेता शेखर कोइरालाले सर्वोच्च अदालतको अन्तिम निर्णयपछि पार्टी एकताको आधार तय हुने बताए।
उनले पार्टीसम्बन्धी अदालतको निर्णय आफूहरूले स्वीकार गरेको उल्लेख गर्दै सर्वोच्चको अन्तिम फैसलापछि कांग्रेसलाई एकताबद्ध गर्ने बाटो खुल्ने विश्वास व्यक्त गरे।
१५औँ महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्ने
नेता विमलेन्द्र निधिले आगामी १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउनुपर्ने बताए।
उनका अनुसार राष्ट्रिय भेलाको मूल उद्देश्य नै कांग्रेसलाई बलियो र एकताबद्ध बनाउनु हो।
त्यस्तै, नेता विजयकुमार गच्छदारले पार्टीलाई एकताबद्ध बनाउने ठूलो जिम्मेवारी देउवाको काँधमा आएको बताए। उनले देउवालाई पार्टीलाई आन्तरिक संकटबाट निकाल्न पहल गर्न आग्रह गरे।
नेता प्रकाशशरण महतले एकताका लागि बलियो समिति बनाएर अघि बढ्नुपर्ने बताए भने रमेश लेखकले देउवाको नेतृत्वमा एकताको पहल हुनुपर्ने धारणा राखे। एनपी साउदले सर्वोच्चको निर्णयपछि पार्टी एकताबद्ध हुने बताए पनि त्यसअघि नै आन्तरिक पहल गर्नुपर्नेमा जोड दिए।
भेलामा सहभागी अधिकांश नेताले कांग्रेसको एकता अपरिहार्य रहेको बताएका छन्। त्यसपछि देउवाले पार्टीका सबै पक्षलाई एकताको पक्षमा दृढ भएर अघि बढ्न आह्वान गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्