चितवन । गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो (मलेरिया) संक्रमण पुष्टि भएको छ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार ३ हजार ४ सय १५ जनाको परीक्षण गर्दा १५ जनामा औलो देखिएको हो। संक्रमितमध्ये अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति रहेको उहाँले जानकारी दिनुभयो।
औलो एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। संक्रमित व्यक्तिमा लगातार वा दिन बिराएर ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जाडो लाग्ने, शरीर काम्ने तथा पसिना आएपछि ज्वरो घट्ने जस्ता लक्षण देखिन्छन्।
बढ्दै संक्रमण
चितवनमा पछिल्ला वर्षमा औलो संक्रमण देखिने क्रम जारी छ। आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ४ सय ५ जनाको नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा ८ हजार ८ सय ६० जनाको परीक्षण गर्दा १० जनामा औलो देखिएको थियो।
नेपालमा मुख्य रूपमा प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम प्रजातिका औलो परजीवी पाइन्छन्। भाइभेक्स बढी देखिने गरेको छ भने फाल्सिपारम विदेशबाट फर्किएका नेपालीमा बढी भेटिने गरेको केसीले बताउनुभयो।
फाल्सिपारम परजीवी औलो संक्रमितमध्ये करिब १५ देखि २० प्रतिशतमा देखिने र यसले स्नायु प्रणालीमा समेत असर गर्न सक्ने उहाँले जानकारी दिनुभयो। भाइभेक्स परजीवी भने करिब ७० देखि ८० प्रतिशतसम्म देखिने गरेको छ।
लामखुट्टे नियन्त्रणमा जोड
वैदेशिक रोजगारीका क्रममा औलो संक्रमण भएका व्यक्ति नेपाल फर्किएपछि यहाँको लामखुट्टेले टोकेमा समुदायमा समेत संक्रमण फैलिन सक्ने भएकाले विशेष सावधानी आवश्यक रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
औलोबाट बच्न घर, गाउँ तथा समुदाय सफा राख्ने, लामखुट्टेले फुल पार्ने सम्भावित स्थान पुर्ने र राति सुत्दा झुल प्रयोग गर्नेजस्ता उपाय अपनाउन आग्रह गरिएको छ।
जनस्वास्थ्य कार्यालयले औलो नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने औषधि छर्किनुका साथै सर्वसाधारणलाई रोगसम्बन्धी जानकारी दिने कार्यक्रम सञ्चालन गर्दै आएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्