काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नचाहँदा नचाहँदै पार्टीको विशेष महाधिवेशन गरिएको बताएका छन्।
शनिबार काठमाडौंको महाराजगन्जस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले विशेष महाधिवेशनविरुद्ध आफूहरूले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएको जानकारी दिए।
मुद्दा अदालतमा विचाराधीन रहेकाले यस विषयमा धेरै बोल्न उचित नहुने उनको भनाइ छ। सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वाससमेत उनले व्यक्त गरे।
“विशेष महाधिवेशनको पक्षमा म थिइनँ। हामीले मुद्दा दिएका छौँ, मुद्दा दिएको विषयमा धेरै बोल्नु हुँदैन। मलाई विश्वास छ, सर्वोच्च अदालतले न्याय दिन्छ।”
देउवाले आफू सधैँ पार्टी एकताको पक्षमा रहेको पनि बताए।
डडेलधुराका लागि काम गर्ने प्रतिबद्धता
आफ्नो गृहप्रदेश सुदूरपश्चिम र गृहजिल्ला डडेलधुराका लागि अझै धेरै काम गर्न बाँकी रहेको देउवाले बताए।
“डडेलधुराका लागि अझै गर्न बाँकी छ, त्यो पनि पूरा गर्छु,” उनले भने।
प्रेस स्वतन्त्रताको पक्षमा देउवा
देउवाले आफू सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए। प्रेसले आफ्नै आचारसंहिताभित्र रहेर काम गर्नुपर्नेमा उनले जोड दिए।
“प्रेसको सन्दर्भमा उसको आफ्नो आचारसंहिताको विषय हो,” उनले भने, “प्रेस स्वतन्त्रता भएको मुलुकमा मात्रै गणतन्त्रको रक्षा हुन्छ।”
गत वर्ष पुसमा नेपाली कांग्रेसको विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशनबाट गगन थापासहितको नयाँ नेतृत्व चयन भएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्