काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोहको एक वर्ष पुग्न लाग्दा इतिहासबाट बिदा हुन लागेका भनिएका पुराना राजनीतिक शक्तिहरू फेरि सक्रिय हुन थालेको टिप्पणी गरेका छन्। उदीयमान नयाँ शक्तिहरू भने राजनीतिक रूपमा अन्योल र दोधारमा देखिएको उनको विश्लेषण छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले मुलुक अहिले बाह्य र आन्तरिक दुवै प्रकारका चुनौतीको चपेटामा रहेको बताएका छन्। बाह्य रूपमा भूराजनीतिक तनाव बढ्दै गएको र आन्तरिक रूपमा लामो समयदेखि सञ्चित आर्थिक, राजनीतिक तथा सामाजिक असन्तुष्टि विस्फोटको अवस्थामा पुग्न सक्ने उनको चेतावनी छ।
उनले भनेका छन्, ‘जेन–जी विद्रोहको वर्षदिन पुग्नलाग्दा इतिहासबाट विदा हुन लागेका पुराना शक्तिहरू फेरि जुर्मुराउन थाल्नु र उदीयमान नयाँ शक्तिहरू चौबाटोमा अलमलिए जस्तो देखिनु विडम्बनापूर्ण छ।’
भट्टराईका अनुसार मुलुकको वर्तमान अवस्था सामान्य राजनीतिक प्रतिस्पर्धाभन्दा गम्भीर छ। बाह्य रूपमा मडारिँदै गएको भूराजनीतिक बादल र आन्तरिक रूपमा सतहमुनि लामो समयदेखि पुत्पुताइरहेको अर्थराजनीतिक तथा सामाजिक–सांस्कृतिक असन्तुष्टि कुनै पनि बेला विस्फोट हुनसक्ने जोखिम बढिरहेको उनले बताएका छन्।
यस्तो परिस्थितिमा देश र जनताप्रति प्रतिबद्ध सबै राजनीतिक शक्तिले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन्। त्यसका लागि विश्व इतिहाससँगै नेपालको आफ्नै राजनीतिक इतिहासबाट समेत पाठ सिक्नुपर्ने उनको भनाइ छ।
भट्टराईले पुराना राजनीतिक शक्तिहरूलाई विगतका कमजोरीप्रति इमानदार आत्मसमीक्षा गर्न सुझाव दिएका छन्। उनका अनुसार पुराना शक्तिहरूले नयाँ राजनीतिक शक्तिलाई रोक्ने वा कमजोर पार्ने उद्देश्यले राजनीतिक गतिरोध सिर्जना गर्नुको सट्टा आफ्ना गल्ती पहिचान गरेर सुधारको बाटो रोज्नुपर्छ।
त्यस्तै, नयाँ सत्ताधारी शक्तिहरूलाई पनि उनले अहंकार र एक्लै सबै कुरा नियन्त्रण गर्न खोज्ने प्रवृत्ति त्याग्न आग्रह गरेका छन्। राज्य सञ्चालनमा विनम्रता, संयम र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सबै पक्षको साथ लिएर शासन सञ्चालन गर्नुपर्ने बताएका छन्।
उनले चेतावनी दिँदै भनेका छन्, ‘अन्यथा गर्नु यो सङ्गीन ऐतिहासिक घडीमा देश र जनताको निम्ति निकै जोखिमपूर्ण र घातक हुनेछ।’
भट्टराईको टिप्पणीमा नयाँ र पुराना राजनीतिक शक्तिबीचको द्वन्द्वभन्दा पनि लोकतान्त्रिक राज्य सञ्चालन, संस्थागत क्षमता र राजनीतिक संस्कारलाई केन्द्रमा राख्नुपर्ने सन्देश देखिन्छ। जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा नयाँ शक्तिको उदय र पुराना दलमाथि बढेको चुनौतीबीच अहिले देखिएको राजनीतिक पुनर्संयोजनलाई उनले संक्रमणकालीन अवस्थाका रूपमा संकेत गरेका छन्।
उनले समाज परिवर्तन र लोकतान्त्रिक राज्य सञ्चालनलाई कुनै एक व्यक्ति वा शक्तिले पूरा गर्ने अभियानका रूपमा नहेर्नसमेत आग्रह गरेका छन्। ‘समाज परिवर्तन गर्नु र लोकतान्त्रिक ढङ्गले राज्य सञ्चालन गर्नु एकल दौड हैन, रिले दौड हो,’ भट्टराईको टिप्पणी छ।
यसले राजनीतिक परिवर्तनपछि सत्ता प्राप्त गर्नु मात्रै पर्याप्त नहुने, त्यसलाई संस्थागत गर्दै दीर्घकालीन लोकतान्त्रिक रूपान्तरणमा लैजान पुराना तथा नयाँ दुवै राजनीतिक शक्तिको जिम्मेवारी रहने उनको धारणा प्रस्ट पार्छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्