सल्यान । लगातारको वर्षाका कारण सल्यानका दुई सडक पहिरो र बाढीले अवरुद्ध भएका छन्।
कपुरकोट गाउँपालिका–४ अरिङ्गालेस्थित राप्ती राजमार्गमा आइतबार बिहान पहिरो खसेपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
पहिरो खसेको सूचना पाएपछि कपुरकोट प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। सडकमा रोकिएका सवारीसाधन हटाउनुका साथै पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन जेसीबी प्रयोग गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिनुभयो।
भित्री सडकको डाइभर्सन बगायो
छत्रेश्वरी गाउँपालिका–५ कैंचीमोडस्थित लान्ती–लेखपोखरा भित्री कच्ची सडकसमेत अवरुद्ध भएको छ।
रातिदेखि परेको लगातार वर्षाका कारण माथिबाट आएको खोलाको बहावले सडकमा बनाइएको अस्थायी डाइभर्सन बगाएपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तत्काल बाटो निर्माण तथा तटबन्धको काम नगरेसम्म उक्त सडकमा यातायात सञ्चालन गर्न सम्भव छैन। अवरुद्ध सडकमा हाल कुनै सवारीसाधन रोकिएका छैनन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्