जाजरकोट, साउन ३१ गते । अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोमा परी जाजरकोटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । भेरी नगरपालिका–२ रिसाङमा शुक्रबार साँझ आएको पहिरोमा दुई जना अझै बेपत्ता छन् ।
साउन ३० गते साँझ करिब ५ः३० बजे आएको पहिरोमा परी घाइते भएका केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल जाजरकोटबाट थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएका कार्कीको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसअघि पहिरोमा बेपत्ता भएका ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव खोजीका क्रममा फेला परेको थियो । उनीहरूको शव फेला परेसँगै पहिरोमा मृत्यु हुनेको संख्या तीन पुगेको हो ।
अझै भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिश विक बेपत्ता छन् । पहिरोपछि घरबाट निस्किएका हरिश सम्पर्कविहीन भएका हुन् ।
पहिरोमा परी सात जना घाइते भएका थिए । घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको थियो ।
पहिरोका कारण स्थानीय आठ घरमा ठूलो क्षति पुगेको छ । बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । टोलीले बेपत्ताको खोजी तथा घटनास्थलमा उद्धार कार्य जारी राखेको जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्