नवलपुर । नेपालमा २० वर्ष नपुगी विवाह गर्न कानुनी रोक भए पनि नवलपुरमा कम उमेरमै गर्भवती हुने किशोरीको संख्या उल्लेख्य देखिएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा गर्भवती भएका ४ हजार ४६३ महिलामध्ये ५ सय जना २० वर्षभन्दा कम उमेरका किशोरी छन्। सोही अवधिमा १ हजार ४२३ जनाले गर्भपतन सेवा लिएका छन्, जसमध्ये ७८ जना २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन्।
कावासोतीमा कम उमेरमा गर्भवती हुने दर बढी
उमेर नपुग्दै गर्भवती हुनेमध्ये कावासोती नगरपालिकामा सबैभन्दा बढी ७.९५ प्रतिशत रहेका छन्। त्यसपछि हुप्सेकोटमा ६.५४ प्रतिशत, बुलिङटारमा ६.२५ प्रतिशत र विनयी त्रिवेणीमा ४.४४ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार गर्भपतन सेवा लिनेको संख्या गैँडाकोटमा सबैभन्दा बढी छ। त्यहाँ ५८ जना सुत्केरी हुँदा ४५८ जनाले गर्भपतन सेवा लिएका छन्। कावासोतीमा ६३२ जना सुत्केरी हुँदा ४०५ जनाले गर्भपतन गराएका छन्।
त्यस्तै देवचुलीमा १७८, हुप्सेकोटमा १४१, विनयी त्रिवेणीमा १००, मध्यविन्दुमा ९७, बौदिकालीमा २५ र बुलिङटारमा १० जनाले गर्भपतन सेवा लिएका छन्।
यो तथ्यांक सरकारी तथा मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट लिइएको हो। जिल्ला बाहिर गएर प्रसूति तथा गर्भपतन सेवा लिनेको संख्या जोड्दा वास्तविक अवस्था अझ बढी हुन सक्ने कार्यालयले जनाएको छ।
कम उमेरमा गर्भधारणले स्वास्थ्य जोखिम
चिकित्सकका अनुसार २० वर्ष नपुग्दै गर्भधारण गर्दा आमा र शिशु दुवैको स्वास्थ्यमा जोखिम बढ्छ। कम उमेरमा गर्भवती हुँदा प्रसूति जटिलता, पाठेघर खस्ने, पिसाब चुहिने तथा बच्चा कमजोर जन्मिने सम्भावना हुन्छ।
यस्तै, बच्चालाई श्वास फेर्न कठिनाइ, शरीरको तापक्रम नियन्त्रणमा समस्या, संक्रमण र कम तौलजस्ता समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन्। कतिपय अवस्थामा आमालाई शल्यक्रिया गरेर प्रसूति गराउनुपर्ने अवस्था आउन सक्छ।
जनचेतना र यौन शिक्षामा जोड
कम उमेरमा गर्भधारणको समस्या घटाउन विद्यालयस्तरबाटै यौन तथा प्रजनन स्वास्थ्य शिक्षा प्रभावकारी बनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ। किशोर–किशोरीमैत्री सूचना केन्द्र, स्कुल नर्स तथा परिवार नियोजन सेवामार्फत जनचेतना विस्तार गर्नुपर्ने उनीहरूको भनाइ छ।
स्थानीय तहबाट बालविवाह न्यूनीकरणका प्रयास भइरहे पनि ती पर्याप्त नभएको सरोकारवालाहरू बताउँछन्। प्रजनन स्वास्थ्य र परिवार नियोजनसम्बन्धी गलत धारणा, अन्धविश्वास तथा पर्याप्त जानकारीको अभावले पनि कम उमेरमा गर्भधारणको समस्या कायमै रहेको चिकित्सकहरूको भनाइ छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्