काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नेतृत्व नछाड्ने स्पष्ट पार्दै नेतृत्व परिवर्तनको माग गर्नेहरूलाई अनुशासनमा बस्न चेतावनी दिएका छन्।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्न इलाम पुगेका ओलीले पार्टी अप्ठ्यारो अवस्थामा रहेका बेला आफू नेतृत्व छाडेर नहिँड्ने बताए।
पार्टीभित्र पछिल्लो समय देखिएको गतिविधिप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी कार्यालयको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने चर्चा गर्नु अनुशासनहीनता भएको टिप्पणी गरे।
‘अहिले अलिकति अनुशासनहीनता देखापरेको छ। पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही हल्ला राखेका छन्। अध्यक्षलाई हटाउने ? कसले हटाउने ? के मजाक हो यो ? यस्तो अराजकता हुन्छ ? कोही हस्ताक्षर गर्दै हिँड्या छ,’ ओलीले भने।
उनले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस गर्नेहरूलाई समेत आलोचना गर्दै आफूले अहिले नेतृत्व नछाड्ने बताए। पार्टीमाथि बाह्य प्रहार भइरहेको अवस्थामा नेतृत्व परिवर्तनको कुरा गर्नु उचित नभएको उनको भनाइ छ।
‘विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइराखेको छ। एकताबद्ध पार्टीले सामना गर्नुपर्ने बेलामा अध्यक्ष हटाउँछौँ भन्या छ। यो केही हुनेवाला होइन,’ ओलीले भने।
उनले आगामी केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई थप दृढ अनुशासनका साथ एकताबद्ध बनाएर अघि बढाउने बताए।
‘पार्टीमा बस्ने हो भने अनुशासन मान्नुपर्छ’
ओलीले पार्टीभित्र मनपरितन्त्र र अराजकता स्वीकार्य नहुने बताए। सामाजिक सञ्जालमा पार्टीविरुद्ध जथाभावी लेख्ने तथा पार्टीको नीतिविपरीत गतिविधि गर्नेहरूलाई उनले सचेत गराए।
‘पार्टीको विरोध गरेर हिँड्ने, सामाजिक सञ्जालमा जेपायो त्यही लेख्ने कुरा हुँदैन। पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ,’ उनले भने।
उनले पार्टीमा बस्न मन नलागे अन्यत्र जान वा घरमै बस्न सकिने भन्दै एमालेमा काम गर्ने हो भने पार्टीको नीति, नियम र विधि पालना गर्नुपर्ने बताए।
‘अर्को पार्टीमा जाने हो भने त्यही पार्टीको अनुशासन के के छ, त्यही गरे हुन्छ। चुप लागेर घरमा बस्ने भए बसे हुन्छ। तर पार्टीमा काम गर्ने हो भने अनुशासन चाहिन्छ,’ ओलीले भने।
विधि–विधानविपरीत गतिविधि गर्नेहरूमाथि कारबाही गरिने चेतावनीसमेत उनले दिए।
ओलीले आफू अर्को महाधिवेशनसम्म पार्टी सञ्चालन गर्ने जिम्मेवारीका लागि कार्यकर्ताबाट अत्यधिक मतसहित निर्वाचित भएको स्मरण गर्दै नेतृत्वबाट हटाउने विषय अहिले स्वीकार्य नहुने संकेत गरे। पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरूले नेतृत्वको विकल्प खोज्नुपर्ने धारणा राख्दै आएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्