काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले विगतमा नेतृत्व परिवर्तनका लागि उठाइएका प्रश्नको जवाफ अहिलेको अवस्थाले खोजिरहेको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले सडकका खाल्डा, सार्वजनिक सेवामा लामो लाइन, मलको अभाव र विदेशिने युवाको लर्कोलगायतका समस्या देखाएर नेतृत्व परिवर्तनको माग गरिए पनि सत्तामा पुगेपछि न्यूनतम कार्यक्षमतासमेत देखाउन नसकिएको टिप्पणी गरेका छन्।
उनले विगतमा “सडकका खाल्डा पुर्न नसक्नेले ठूला सपना बाँड्ने?”, “सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने र एयरपोर्टमा युवाको लर्को लाग्ने अवस्थामा विकासका गफ दिने?” जस्ता प्रश्न उठाइएको स्मरण गरेका छन्।
तर अहिले पनि ती दैनिक समस्या समाधान नभएको र भविष्यप्रतिको आशा कमजोर बनेको उनको दाबी छ।
भूराजनीतिक अस्थिरताप्रति चिन्ता
पोखरेलले अहिले भूराजनीतिक असन्तुलन र असुरक्षा बढ्दै गएको बताएका छन्। त्यस्तै, साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलबली देखिएको र निराशा तथा मानसिक तनाव बढिरहेको उनको भनाइ छ।
उनले विगतमा जुन समस्या देखाएर नेतृत्व परिवर्तनको हुटहुटी देखाइएको थियो, सत्तामा पुगेपछि ती समस्या समाधान गर्न न्यूनतम कार्यक्षमता किन देखाउन नसकिएको भन्ने प्रश्न गरेका छन्।
“अब अरूलाई दोष थोपरेर उम्किने छुट कसैलाई छैन,” पोखरेलले लेखेका छन्।
सुधारका चार सुझाव
देशको वर्तमान अवस्था सुधारका लागि पोखरेलले चारवटा विषयमा जोड दिएका छन्।
- आर्थिक सबलीकरण: देश आर्थिक रूपमा सबल नभएसम्म आधारभूत समस्या पूर्ण रूपमा समाधान नहुने यथार्थ स्वीकार गर्दै इमानदार पहल गर्नुपर्ने।
- दैनिक समस्या र दीर्घकालीन विकास: तत्कालका समस्या समाधान गर्दै विकास तथा समृद्धिका दीर्घकालीन योजना सँगसँगै अघि बढाउनुपर्ने।
- सहमति र सहकार्य: संकटका बेला एक्लै अघि बढ्ने हठ त्यागेर सहमति र सहकार्यको राजनीतिमा फर्किनुपर्ने।
- संविधान र कानुनको पालना: प्रशासनिक तथा सुरक्षा निकायलाई विश्वासमा लिएर संविधान र कानुनको पालना तथा आवश्यक सुधारमा जोड दिनुपर्ने।
पोखरेलले यी उपाय अवलम्बन गर्न सके सडकबाट सरकार परिवर्तन गर्नुपर्ने अवस्था दोहोरिन नदिने दाबी गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्