काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत तथा उनका ज्वाइँ जारेड कुसनरले अमेरिका र इरानबीचको वार्ता अहिलेसम्मकै बलियो चरणमा पुगेको दाबी गरेका छन्। यद्यपि वार्ता अझै सहमतिमा पुगिनसकेको उनको भनाइ छ।
सोमबार फक्स न्युजसँग कुरा गर्दै कुसनरले अमेरिका र इरान सरकारका विभिन्न निकायबीचको छलफल सम्भवतः अहिलेसम्मकै सबैभन्दा बलियो चरणमा रहेको बताएका हुन्।
‘संयुक्त राज्य अमेरिका र इरान सरकारका विभिन्न निकायबीचको छलफल सम्भवतः अहिलेसम्मकै सबैभन्दा बलियो चरणमा छ। यद्यपि उनीहरू अझै अन्तिम निष्कर्षमा पुगेका छैनन्,’ उनले भने।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग आफू इरानसँगको अन्तरिम सम्झौता विस्तार गर्ने प्रयासमा नरहेको बताएका थिए।
बीबीसी फारसीका अनुसार, यसअघि प्रस्तावित अन्तरिम सम्झौता हर्मुज जलडमरूमध्य खोल्ने विषयमा स्पष्ट बाटो तय गर्न नसकेपछि असफल भएको थियो।
ट्रम्पले भने आफूले आवश्यक ठानेको सम्झौता स्वीकार गर्न इरान तयार हुने विश्वास व्यक्त गरेका छन्। वार्ता जारी रहे पनि मुख्य विषयमा सहमति जुट्न नसक्दा अमेरिका–इरान सम्बन्धमा तनाव कायमै रहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्