काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले मुलुकमा बढ्दो मनसुनजन्य विपद्, जनसरोकारका समस्या तथा सरकारको कूटनीतिक भूमिकामाथि प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका पुनले सरकारले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्न नसकेको र राज्यशक्तिको दुरुपयोग गरिरहेको आरोप लगाए।
विपद्मा परेकाको उद्धारका लागि तयारी अवस्थामा राखिएका हेलिकोप्टर तथा सेनाको स्काई ट्रक सामान्य बिरामी परेका मन्त्रीलाई काठमाडौँ ल्याउन प्रयोग गरिएको भन्दै उनले सरकारको आलोचना गरे।
‘विपद्मा परेकाहरूको उद्धारका लागि तयारी अवस्थामा राखिएका हेलिकप्टर र सेनाको स्काई ट्रक सामान्य रुघाखोकी लागेका मन्त्रीलाई काठमाडौं ल्याउन प्रयोग गरिनु गैरजिम्मेवारपूर्ण कार्य हो,’ पुनले भने।
जाजरकोट, रोल्पा र बागलुङलगायतका जिल्लामा मनसुनजन्य विपद्का कारण ठूलो क्षति भए पनि उद्धार, पुनर्स्थापना र पुनर्निर्माणको काम सुस्त रहेको उनले बताए। विपद् व्यवस्थापनका लागि भूगर्भिक अध्ययन टोली परिचालन गर्न तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उनले सरकारको ध्यानाकर्षण गराए।
गृहमन्त्री सुधन गुरुङ आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहेको उल्लेख गर्दै पुनले देशभरको विपद्को अवस्था, उद्धार तथा राहत वितरणबारे तत्काल सदनलाई जानकारी गराउन माग गरे।
ग्यास, मल र पासपोर्टमा उस्तै समस्या
सरकारले जनतालाई सेवा प्रवाह गर्ने सवालमा पुरानै प्रवृत्ति दोहोर्याएको पुनको आरोप छ। ग्यास, मल र राहदानी लिन सर्वसाधारणले अझै घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै उनले नयाँ भनिएका राजनीतिक शक्तिहरू सरकारमा आए पनि जनताको दैनिक जीवनमा अपेक्षित सुधार आउन नसकेको टिप्पणी गरे।
परराष्ट्र नीतिमा सरकारको अपरिपक्वता
पूर्वमन्त्री पुनले सरकारको परराष्ट्र नीतिमाथि पनि प्रश्न उठाए। छिमेकी राष्ट्रसँगको सम्बन्धमा सरकारले अपरिपक्वता र दोहोरो चरित्र देखाएको उनको आरोप छ।
‘संविधानले असंलग्न परराष्ट्र नीति स्पष्ट गरेको छ, हामी कुनै पनि सैन्य गठबन्धन वा शक्तिको पक्षमा ढल्किनुहुँदैन,’ उनले भने।
तिब्बत र दलाई लामाका विषयमा सरकारको अस्थिर नीतिले अन्तर्राष्ट्रियस्तरमा नेपालको स्वाधीनतामाथि प्रश्न उठ्न सक्ने भन्दै पुनले परराष्ट्र नीतिमा स्पष्टता आवश्यक रहेको बताए।
धार्मिक सद्भाव कायम गर्न नयाँ कानुन माग
सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न संविधानको धारा ५ र २६ को भावनाअनुसार तत्काल आवश्यक कानुन निर्माण गर्न सरकारलाई रुलिङ गर्न उनले सभामुखसँग माग गरे।
धर्मलाई राजनीतिको हतियार बनाउने स्वार्थ समूहहरू सक्रिय रहेको भन्दै उनले यस्ता गतिविधिप्रति सरकारले शून्य सहनशीलताको नीति लिनुपर्नेमा जोड दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्