हेटौंडा । नेकपा एमालेले वाग्मती प्रदेशमा सरकार गठनका लागि पूर्वस्वास्थ्यमन्त्री किरण थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। मंगलबार बसेको एमाले संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्दै प्रदेशमा नयाँ सरकार गठनका लागि अन्य दलसँग संवाद अघि बढाउने निर्णय गरेको हो।
बैठकले जेएन थपलियालाई संसदीय दलको नेतामा निरन्तरता दिने निर्णयसमेत गरेको छ। साउन २७ गते थपलियाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएपछि एमालेभित्र नेतृत्व परिवर्तनको चर्चा चलेको थियो। तर मंगलबारको निर्णयसँगै थपलिया नै संसदीय दलको नेताका रूपमा कायम भएका छन्।
मुख्यमन्त्रीका लागि थपलियाले समेत दाबी गर्दै आएका थिए। यसअघि साउन १८ गते उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न ओली निवास पुगेका थिए। त्यस क्रममा भएको घटनापछि थपलिया अस्वस्थ भएर ढलेका थिए। उपचारपछि फर्किएका उनले मंगलबार थापालाई मुख्यमन्त्री बनाउने निर्णयमा समर्थन जनाउँदै हस्ताक्षर गरेका हुन्।
थपलियाले पार्टी निर्णय स्वीकारे
संसदीय दलको बैठकपछि नेता थपलियाले पार्टी नेतृत्वको निर्देशनअनुसार आफूले किरण थापालाई मुख्यमन्त्री बनाउने प्रस्तावमा सहमति जनाएको बताए।
उनले व्यक्तिगत आकांक्षाभन्दा पार्टी एकता र एमाले नेतृत्वमा सरकार गठनलाई प्राथमिकता दिएको स्पष्ट पारे।
‘आफ्नै दलभित्र कुरा नमिलेपछि अरूसँग मिल्ने कुरा पनि आउँदैन,’ थपलियाले भने, ‘बृहत् पार्टी एकता र पार्टी नेतृत्वको निर्देशनअनुसार दलको नेताको हैसियतले मैले किरण थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेको छु।’
थपलियाले थापालाई मुख्यमन्त्रीका रूपमा अघि सारिएकोमा बधाई दिँदै सरकार गठनका लागि आवश्यक सहयोग गर्ने बताए। एमालेसँग प्रदेशसभामा एकल बहुमत नरहेकाले अन्य दलसँग सहकार्य र संवादमार्फत सरकार गठन गर्नुपर्ने उनको भनाइ छ।
‘वार्ता र संवादबाट सरकार बनाउँछौँ’
मुख्यमन्त्रीका रूपमा अघि सारिएका किरण थापाले एमाले नेतृत्वमा सरकार गठनका लागि अब निर्णायक रूपमा संवाद अघि बढाउने बताएका छन्।
उनका अनुसार एमालेले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टीसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरिरहेको छ।
‘हिजोबाट मुख्यमन्त्रीको नाम आइसकेपछि अब यो गतिरोध हट्नुपर्छ,’ थापाले भने, ‘हामी सरकार बनाउनुपर्छ भन्ने लक्ष्यसहित अघि बढिरहेका छौँ। दलहरूले पनि यसको निकास निकाल्नुपर्छ। वार्ता र संवादबाट सरकार बनाउनुपर्छ भन्नेमा हामी केन्द्रित छौँ।’
थापाले आफूलाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको विषयलाई व्यक्तिगत जित वा हारका रूपमा नहेर्न आग्रह गरे। एमाले विधि, विधान र पार्टी नेतृत्वको निर्णयअनुसार चल्ने भएकाले नेतृत्वको निर्णय स्वीकार गरेर अघि बढ्ने उनको भनाइ छ।
‘कतिपय कुरा चित्त नबुझ्न पनि सक्छ, तर नेतृत्व तहले गरेका निर्णयलाई हामी अक्षरशः पालना गरेर अगाडि बढ्छौँ,’ उनले भने।
बहुमत जुटाउनु एमालेका लागि मुख्य चुनौती
वाग्मती प्रदेशसभाको अंकगणित भने एमालेका लागि सहज छैन। प्रदेशसभामा एमालेसँग एकल सरकार गठन गर्न आवश्यक बहुमत छैन। त्यसैले थापालाई मुख्यमन्त्री बनाउन अन्य दलको समर्थन अनिवार्य हुनेछ।
वाग्मती प्रदेशसभामा एमालेका २५ सांसद छन्। नेकपा माओवादी केन्द्रका २६, हाम्रो नेपाली पार्टीका २, नेपाल मजदुर किसान पार्टीका ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ सांसद छन्।
कुल १०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।
यस हिसाबले एमालेले आफ्ना २५ सांसदबाहेक थप कम्तीमा २८ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ। त्यसका लागि माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण गर्नुपर्ने अवस्था देखिन्छ।
एमालेभित्रको संसदीय दलको नेतृत्वसम्बन्धी विवाद तत्कालका लागि टुंगिएको देखिए पनि मुख्यमन्त्रीमा थापाको नाम तय भएपछि पनि सरकार गठनको अंकगणित भने चुनौतीपूर्ण बनेको छ।
सत्ता समीकरणमा नयाँ मोडको सम्भावना
एमालेले नेमकिपा र हाम्रो नेपाली पार्टीसँग संवाद गरिरहेको बताए पनि ती दलको समर्थन मात्रले सरकार गठनका लागि आवश्यक बहुमत पुग्दैन। त्यसैले एमालेले थप दललाई आफ्नो पक्षमा ल्याउनुपर्नेछ।
मुख्यमन्त्रीको उम्मेदवार चयनसँगै अब वाग्मती प्रदेशको राजनीति मुख्यतः बहुमत जुटाउने प्रयास र सम्भावित सत्ता समीकरणतर्फ केन्द्रित हुने देखिएको छ।
एमालेभित्रको आन्तरिक विवादलाई तत्कालका लागि व्यवस्थापन गर्दै पार्टीले एउटै उम्मेदवार अघि सारे पनि थापाको नेतृत्वमा सरकार गठन गर्न बाह्य समर्थन जुटाउनु नयाँ चुनौती बनेको छ। अब एमालेले कुन दलसँग कस्तो सहकार्य गर्छ र प्रदेशसभामा ५३ सांसदको समर्थन कसरी सुनिश्चित गर्छ भन्ने विषयले वाग्मती प्रदेशको आगामी सत्ता समीकरण निर्धारण गर्नेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्